विराटनगर । प्रदेश १ का दुई जिल्ला अस्पतालको स्तरोन्नति गरिने भएको छ । तेह्रथुम र पाँचथर जिल्ला अस्पतालको स्तर उन्नति गरिने भएको हो ।
दुई अस्पताललाई ५० शय्यामा स्तर उन्नति गर्ने निर्णय प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।
प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) स्वीकृत गरी अस्पताललाई ५० शैय्यामा स्तर उन्नति गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले जानकारी दिए । अहिले दुवै अस्पताल १५ शय्याका हुन् । १५ शय्याको अस्पतालबाट स्तरउन्नति गर्नुपर्ने माग जिल्लाबासीले गर्दै आएका थिए ।
पाँचथर जिल्ला अस्पतालमा ५० शय्याको भवन निर्माण भरसकको छ भने तेह्रथुममा ५० शय्याको अस्पतालका लागि नयाँ भवन बनाउनु पर्ने छ । तेह्रथुममा नयाँ भवन बनाउन बजेटको व्यवस्थापन संघीय सरकारले गरिसकेको छ ।
पहाडी जिल्लामा सुबिधासम्पन्न सरकारी अस्पताल नहुदा बिरामीले निजी अस्पतालमा पुग्नुपर्ने वा तराई झर्नुपर्ने बाध्यता रहेको छ । अब मापदण्ड अनुसार दरबन्दी परिपूर्ति र उपकरणको व्यवस्थापन गरिने सरकारले जनाएको छ ।
‘डाक्टर, कर्मचारी, उपकरण लगायतका दरबन्दी परिपूर्ति र उपकरण व्यवस्थापन अब चाडै सञ्चालन गर्छौ,’ मन्त्री आङ्बोले भने ‘पूर्वी पहाडका नागरिकले बहु–विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको छ ।’
‘यि अस्पताल ५० शय्याको बनाउने अत्यन्त महत्वपूर्ण निर्णय गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दालाई ठुलो राहत पुग्ने छ’ मन्त्री आङबोले भने ‘दरबन्दी परिपूर्ती र उपकरण व्यवस्थापन भएपछि छिट्टै अस्पताल सञ्चालन हुनेछ ।’ जिल्ला अस्पताललाई ५० शय्याको बनाउने विषय प्राथमिकतामा राखेकोमा अहिले सफल भएको उनले बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!