विराटनगरका उद्योगीको चेतावनीः कि ब्याजदर घटाऊ, कि हाम्रो जायजेथा लिइदेऊ

विराटनगरका उद्योगीको चेतावनीः कि ब्याजदर घटाऊ, कि हाम्रो जायजेथा लिइदेऊ

विराटनगर । ब्याजदरमा भएको चर्को वृद्धिले उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको बताउँदै विराटनगरका उद्योगीहरुले यही अवस्था कायम रहे आफ्नो जायजेथा सरकारलाई जिम्मा लगाउनुपर्ने स्थिति आएको बताएका छन्।

उद्योगीहरुले वाणिज्य बैंकहरुले बढाएको ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग गर्दै उद्योगीहरुले अन्यथा सबै जायजेथासहित उद्योग सरकारलाई जिम्मा लगाउनु पर्ने अवस्था छिटै आउने उनीहरुको भनाइ छ। बैंकरहरुको लडाइँको असर मुलुकका उद्योगधन्दाहरुमा परेको बताउँदै उनीहरुले उद्यमशीलता नै ध्वस्त हुने र बसीबसी ब्याज खाने प्रवृत्ति प्रोत्साहित गर्ने काम भएको उनीहरुको भनाइ छ।

‘लगानीयोग्य पूँजीको अभावमा उद्योग / व्यवसायहरू आ – आफ्ना क्षमता अनुरूप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको छ’, शुक्रबार सञ्चारकर्मीहरुसँग मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधिमै भद्र सहमति भंग गर्दै बैंकहरूले आफूखुशी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ ।’

उनका अनुसार यसले औद्योगिक क्षेत्रमा असर पुर्याउने जोखिम उच्च भएको छ । ‘साउनमा मात्रै ९ सय करोड मुनाफा बैंकहरुले कमाएको बुझिएको छ। तर, उद्योग  व्यवसाय र उपभोक्ताहरूको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी / व्यवसायीहरू हतोत्साहित भइरहेका छन्’, अध्यक्ष रिजालले भने ‘नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत औद्योगिक/ व्यवसायिक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरूपता कायम गर्न माग गर्दछौं।’

उद्योगीहरुले एकल अंकको व्याजदर कायम गर्नु पर्ने , औद्योगिक /व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनु पर्ने , संस्थागत व्याज दर कम गरिनु पर्ने लगायतका माग निरन्तर गर्दै आएका छन्। हालको अवस्थाले निरन्तरता पाए मुलुकको आर्थिक गतिविधिहरू संचालन गर्न कठिन हुने र अर्थतन्त्रमा प्रतिकुल असर पर्ने निश्चित रहेको उल्लेख गर्दै संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले यस्तो अवस्था निरन्तर रहे उद्योग चलाउन नसकिने बताए।

‘त्यो बेला सरकारले हाम्रो जायजेथा लिइदिए हुन्छ’, उद्योगीसमेत रहेका उनले भने ‘हामी पनि बसीबसी ब्याज खाएर ढुक्कले बस्छौं।’ उद्योगी अनुपम राठीले कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने बताए।

उद्योगीहरुले सरकार, बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूलाई मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भई नेपाली उद्यमी, व्यवसायी र उपभोक्ताहरूको हक , हित एवं सुरक्षार्थ आ आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तत्काल ठोस कदम चाल्न माग गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्