विराटनगर । पाँच वर्षअघिसम्म विराटनगरस्थित उद्योगी व्यवसायीका दुई संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङबीचको सम्बन्ध पानी बाराबारको जस्तै थियो । उद्योग संगठनको नेतृत्वमा भीम घिमिरे र व्यापार संघको नेतृत्वमा प्रकाश मुन्दडा आएपछि उनीहरुकै पहलमा यी दुई संस्थाबीचको सम्बन्ध सुमधुर बन्यो ।
एकअर्र्काका प्रतिष्पर्धी र प्रतिद्वन्द्वी जस्ता रहेका यी संस्था एकअर्कासँगका सहयोगी बने र सहकार्य थाले । उद्योगी व्यवसायीको धेरै मुद्दामा उनीहरुले खुद्रा व्यवसायीको संस्था विराट व्यापार संघलाई पनि साथ लिएर अगाडि बढेका थिए ।
उद्योग संगठन र व्यापार संघ नेपाल उद्योग वाणिज्य महासंघका सदस्य संस्था हुन् । उद्योग संगठनमा कार्यकाल पुरा गरेर घिमिरे विदा भएपछि उनकै नेतृत्वमा नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रदेश समिति गठन भयो । त्यसपछि तीन संस्थाबीच सहकार्य सुरु भयो ।
विराटनगरमै कार्यालय रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश समितिसँग भन्दा व्यापार संघ र उद्योग संगठनको निकट सम्बन्ध र सहकार्य उद्योग परिसंघसँग भयो । पछिल्लो समयमा उद्योग परिसंघका अध्यक्ष घिमिरेको एउटा योजनाले भने उद्योगी व्यवसायीको संस्थामा दरार उत्पन्न भएको छ ।
विराटनगरमा विगत २६ वर्षदेखि लाग्दै आएको व्यापारिक मेला सञ्चालन गर्ने विषयमा उद्योगी–व्यवसायीहरुबीच फाटो देखिएको हो । उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला लगाउँने लिखित समिति अनुसार सहकार्य गर्दै आएका थिए । अघिल्लो वर्ष व्यापार संघले मेला लगाएकोले यो वर्ष उद्योग संगठनले लगाउने तयारी गरिरहेको थियो । घिमिरे नेतृत्वमा रहेको उद्योग परिसंघले पनि मेला लगाउने तयारी गर्दै करिब एउटै मिति घोषणा गरेपछि विवाद भएको हो ।
उद्योग संगठनले आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी) आयोजना गर्ने घोषणा गरेको छ । उद्योग परिसंघ प्रदेश १ ले पनि माघ महिनाको १९ गतेदेखि २८ गतेसम्म कृषि तथा औद्योगिक प्रदर्शनी सिआइएन एक्स्पो २०२३ आयोजना गर्ने घोषणा गरेपछि विवाद सतहमा आएको हो ।
मेला लगाउन अघि सरेका दुवै संस्था पछि हट्ने अवस्थामा देखिन्नन् । ‘अब पालो हाम्रो हो, हामी मेला लगाउँछौं । अरुले के गर्छन् थाहा छैन’, उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले भने ‘व्यापार संघसँग आलोपालो गर्ने हाम्रो लिखित सहमति छ । सहमति अनुसार व्यापार संघले हामीलाई सहयोग गर्छ ।’ संगठनका अध्यक्ष सुयष प्याकुरेल विराटनगर बाहिर रहेको र उनी आएपछि थप छलफल हुने उनले बताए ।
नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरे आफूहरुले मेलाको लामो तयारी गरेको बताउँदै पछि नहट्ने बताउँछन् । दुई संस्थाबीच आलोपालोको सहमति भएको भएपछि उनीहरुले गएको २ वर्ष ग्याप राखेकोले समस्या भएको उनको भनाइ छ । ‘व्यापार संघले २०७७ सालमा र उद्योग संगठनले २०७८ सालमा मेला लगानुपर्ने थियो’ उनले भने, उनीहरुले समयमा मेला लगाउन नसकेपछि हामीले निर्णय गरेर अघि बढेका हौं ।’
उद्योग संगठनकै निवर्तमान अध्यक्ष रहेका घिमिरेका नेतृत्वमा रहेको परिसंघले मेलाको विवाद झिक्नु अनावश्यक भएको उद्योग संगठनको भनाइ छ । प्रदेशस्तरी संरचनाले विराटनगरमै मेला लगाउन जबरजस्ती गर्नु उपयुक्त नभएको उनले बताए । घिमिरे भने प्रदेशको राजधानी भएकोले विराटनगरमै मेला लगाउने तयारी गरेको बताउँछन् । मेला व्यवस्थापनको धेरै काम अगाडि बढेको भन्दै उनले अब यसबारे कुनै छलफल र सहमति नहुने बताए ।
उद्योग संगठनसँग आलोपालो मेला लगाउने सहमति गरेको मोरङ व्यापार संघ भने उद्योग संगठन र उद्योग परिसंघको चेपुवामा परेको छ । एकातिर उद्योग संगठनसँगको लिखित सहमति छ भने अर्कोतिर परिसंघमा व्यपार संघका पूर्वअध्यक्षसहितको टिम जोडिएको छ । परिसंघले मेला लगाउने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष नविन रिजाल उपस्थित थिए । संघलाई परिसंघले मेलाको सहयोगी र साझेदार भनेको छ ।
रिजालले तीन वटै संस्थाहरु उद्योगी व्यवसायीहरुको साझा संस्था भएकोले सहमति खोजेर अघि बढ्नुपर्ने बताए । ‘उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेल बाहिर भएकोले छलफल हुन पाएको छैन’ उनले भने, ‘प्याकुरेल आएपछि हामी यसबारे त्रिपक्षीय छलफल गरेर सहमति खोज्नेछौं ।’ उनले विवाद मिलाउन व्यापार संघले सहजिकरण गर्ने बताए ।
व्यवसायीक संस्थाबीच विवाद बढेपछि विराट व्यापार संघले पनि प्रेस विज्ञप्ति जारी गरेर आफूबाहेक अर्को कुनैपनि संस्थाले आयोजना गर्ने मेला महोत्सवमा सहयोगी संस्थाका रुपामा नबस्ने घोषणा गरेको छ । परिसंघले आफ्नो संस्थालाई मेलाको सहयोगी भन्दै प्रचार गरेको भन्दै अध्यक्ष नरेशकुमार खत्रीले विज्ञप्ति जारी गरेर परिसंघको निर्णयप्रति विमति जनाएका छन् ।
व्यापार संघ र उद्योग संगठनको मुल संस्था नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य एवम् प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत भने मेलाको विषयमा अनावश्यक विवाद झिकिएको बताउँछन् । भर्खरै जन्मिएको परिसंघले अनावश्यक रुपमा विराटनगरका पुराना दुई संस्थासँग पौठेजोरी खेल्ने प्रयास गरेको उनको भनाइ छ ।
‘महासंघ अन्तर्गतका दुई संस्था हुन्, व्यापार संघ र संगठन । दुई संस्थाले सहमति अनुसार गरिरहेको काममा अर्को संस्था जबरजस्ती घुस्न खोज्नु राम्रो होइन’, राउतले भने ‘प्रदेशस्तरीय संस्थाले प्रदेशभर कार्यक्रम गर्ने हो । यहाँको संस्थासँग पौठेजोरी खेल्ने होइन ।’

