विराटनगर । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार गर्ने मोरङ केराबारी ८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ ।
२०७१ साल जेठ ९ गते १६ वर्षीय युवतीलाई बस्नेतसहित ३ जनाले सामूहिक बलात्कार गरेका थिए । उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले उनलाई पनि दोषि ठहर गरेसँगै उनी जिल्ला कारागार मोरङमा छन् । घटनामा संलग्न अर्का एक जना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।
केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसावले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो । सोही फैसला अनुसार बेलबारी प्रहरीले बुधबार पक्राउ गरी बस्नेतलाई जिल्ला अदालत मोरङमा बुझाएको थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!