विराटनगर । प्रदेश १ सरकारले कर्मचारीहरुका लागि प्रदान गर्ने प्रोत्साहन रकम पाउनबाट वञ्चित प्रदेश १ का विशेषज्ञ चिकित्सकहरुले सो रकम उपलब्ध गराइदिन माग गरेका छन् ।
बिहीबार मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सकहरुले ‘कर्मचारी प्रोत्साहन कार्यविधि २०७९ मा नेपाल सरकार छात्रवृत्ति करार अनतर्गत प्रदेश मातहतमा कार्यरत चिकित्सकहरु नसमेटिएकोमा असन्तोष प्रकट गरेका छन् । ‘प्रदेशका विभिन्न अस्पताल, संस्था र निकायमा कार्यरत कर्मचारीलाई प्रोत्साहन रकम दिने कुनै व्यवस्था कार्यविधिमा देखिँदैन’, चिकित्सकहरुले ज्ञापनमा भनेका छन् ‘हामीलाई पनि उक्त प्रोत्साहन रकम उपलब्ध गराइदिने व्यवस्था मिलाईदिन निवेदन गर्दछौं ।’
सबै कर्मचारीहरु कार्यविधिमा समेटिँदा चिकित्सकहरु मात्रै छुटेको भन्दै यस्तो विभेद नगर्न उनीहरुले माग गरेका हुन् ।जवाफमा मुख्यमन्त्री राजेन्द्र राईले यसबारे छलफल गरेर टुंगोमा पुग्ने आश्वासन दिएका छन् । प्रदेश सरकारले प्रदेश मातहत काम गरिरहेका र ६ महिना अवधि पार गरेका कर्मचारीहरुलाई उक महिना बराबरको तलब रकम प्रोत्साहन स्वरुप दिने घोषणा गरेर कार्यविधि बनाएको छ ।
तर, कार्यविधिले आफूहरुलाई नसमेटेको भन्दै प्रदेशका विशेषज्ञ चिकित्सकले त्यसमा समेट्न माग गरेका हुन् । प्रदेश १ मा यसरी काम गर्ने ८६ जना चिकित्सकको सेवा अवधि ६ महिना पूरा भइसकेको छ ।