विराटनगर । आउँदो चुनावका लागि उम्मेद्वारी सिफारिश भएपछि सामाजिक सञ्जालमा धेरैले बधाई पाए । कतिपयले क्लस्टर ख्यालै नगरी जथाभावी सिफारिश गरिएको भन्दै आलोचना गरे ।
प्रदेश १ को प्रदेशसभाका लागि समानुपातिकतर्फ पनि धेरैको नाम सिफारिशमा परेको छ । प्रदेशसभामा को कति छानिने छन् ? यसबारे तथ्यगत रुपमा केही चर्चा गरौं ।
मंसिर ४ का लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति घोषणा भएपछि दलहरुले धमाधम उम्मेद्वार सिफारिश गरिरहेका छन् । अधिकांश दलहरुले क्षेत्रीय तहबाट सिफारिश लगभग टुंग्याएका छन् ।
खासगरी सत्तारुढ पाँच दल र एमालेसहितका दलहरुबीचको ध्रुवीकरण हुने सम्भावना उच्च भएको आगामी निर्वाचनमा प्रदेश १ को प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट कूल ३७ जना सांसद निर्वाचित हुनेछन् ।
९३ सदस्सीय प्रदेशसभाका बाँकी ५६ जना सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले असोज २ र ३ गतेको समय दिएको छ । आयोगले उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउनका लागि दलहरूलाई असोज ४ गते सूचना दिने कार्यतालिका बनाएको छ । उक्त कार्यतालिका बमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्न पाउनेछन् ।
प्रदेश १ को समानुपातिक क्लस्टर हेर्दा आदिवासी जनजाति बाहुल्य हुने देखिएको छ । प्रदेश १ मा आदिवासी जनजातिको प्रतिनिधित्व अरु समुदायभन्दा बढी छ ।
दलहरुले सम्बन्धित प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारित कुल सदस्य संख्याभन्दा बढी र उक्त संख्याको १० प्रतिशतभन्दा कम नहुने गरी उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने हुन्छ ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार दलहरुले प्रदेश १ मा बढीमा ३७ र कम्तीमा ४ जनाको नाम बन्दसूचीमा समावेश गर्न पाउँछन् । समानुपातिकतर्फ प्रदेश १ बाट ३७ जना प्रदेश सांसदहरु छानिन्छन् । यो प्रदेशमा आदिवासी जनजातिको उल्लेख्य कोटा छ । यस प्रदेशमा आदिवासी जनजाति १७ जना छानिन्छन् भने खस आर्य १० जना निर्वाचित हुन्छन् । त्यसैगरी दलित ४ जना, मधेसी ३ जना र मुस्लिम १ जना प्रदेश १ बाट समानुपातिक सांसदहरु चुनिन्छन् । दलहरुले बन्दसूची बुझाउँदा यही अनुसारको कोटा मिलाएर बुझाउनुपर्ने हुन्छ ।
प्रदेश १ मा सबै क्लस्टरको समानुपातिक प्रतिनिधित्व देखिन्छ । तथापि थारु र मुस्लिमको प्रतिनिधित्व थोरै छ । मुस्लिमबाट १ जना र थारूबाट दुई जनामात्रै प्रदेश १ मा समानुपातिक सांसदको कोटा छ । त्यस्तै दलित र मधेशीको पनि ४ र ३ जना मात्रै कोटामा परेका छन् ।
जनसंख्याको हिसाबले छुट्याइने समानुपातिक कोटामा प्रदेश १ बाट पहिलो स्थान देखिन्छ भने खस आर्यको प्रतिनिधित्व दोस्रो स्थानमा छ । तीन प्रतिशत अल्पसंख्यक, पिछडिएको क्षेत्र एवं अपाङ्गता भएका व्यक्तिको संख्या यहीभित्र समेटिने कानूनी प्रावधान छ ।
प्रदेश १ को प्रतिशतगत हिसाबले हेर्दा आदिवासी जनजाति ४६.७९ प्रतिशत हुनेछ भने खस आर्यको प्रतिनिधित्व २७.८४ प्रतिशत हुनेछ । त्यस्तै थारुको ४.१५ प्रतिशत दलितको १०.०६ प्रतिशत, मधेसी ७.५७ प्रतिशत र मुस्लिमको प्रतिनिधित्व ३.५९ प्रतिशत हुनेछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।