विराटनगर । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश १ का २८ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारीका लागि प्रमुख तीन राजनीतिक दलहरुबाट २२५ जना सिफारिसमा परेका छन् ।
सिफारिसमा परेकामध्ये हाल प्रदेशसभा सदस्यको रुपमा क्रियाशील १९ जना नेताहरू छन् । प्रदेशबाट संघमा जान इच्छुकहरु नेताहरु नेकपा एमालेका सबैभन्दा धेरै छन् । एमाले नेता तथा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीमप्रसाद आचार्य तथा केही मन्त्रीहरुसहित ११ जना छन् । राईले भोजपुरबाट यस पटक संघमा लड्ने तयारी गरिरहेका छन् भने आचार्यले सुनसरीको क्षेत्र नम्बर २ बाट आफ्नो नाम सिफारिस गराएका छन् ।
यस्तै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका ताप्लेजुङका नेता टंक आङ्बुहाङको नाम पनि संघमा सिफारिस भएको छ । आङ्बुहाङ यसअघि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका छन् । एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रको कारबाहीमा परेका उनी हाल कुनै सार्वजनिक पदमा छैनन् । यस्तै एमालेकै प्रदेश सांसद हिराकुमार थापालेले झापा ४ बाट प्रतिनिधिसभामा लड्ने बताएका छन् । एमालेले सो क्षेत्रबाट उनको नाम पनि सिफारिस गरेको छ । थापा प्रदेश १ का पूर्वमन्त्री पनि हुन् ।
यस्तै एमाले प्रदेश १ का अध्यक्ष तथा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले पनि संखुवासभाबाट प्रतिनिधिसभामा दाबी गरेका छन् । उनी पनि प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।
यस्तै तेह्रथुमबाट तेजमान कङ्दङ्बा, सुनसरी ४ बाट जगदिशप्रसाद कुशियैत, उदयपुर १ बाट बिमल कार्की, उदयपुर २ बाट कला घले, खोटाङबाट उषाकला राई र ओखलढुंगाबाट अम्बिरबाबु गुरुङ पनि प्रदेशबाट संघमा जान चाहने नेताहरु हुन् । उनीहरुको नाम पनि संघीय सांसदका लागि जिल्लाबाट सिफारिस भएका छन् । उनीहरुमध्ये कुशियैत, घले, राई र गुरुङ प्रदेश १ का पूर्वमन्त्री पनि हुन् । कन्दङ्बा र कार्की भने प्रदेश १ का सांसद हुन् । प्रदेशसभामा एमालेका ३९ जना सांसद छन् ।
यता प्रदेशकै दोस्रो ठूलो पार्टी नेपाली काँग्रेसबाट भने २ जनाले मात्रै प्रदेशबाट संघमा जाने इच्छा देखाएका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला आफैं यस पटक संघमा चुनाव लड्ने दाउमा छन् । उनलाई काँग्रेसले सुनसरीको २ नम्बर क्षेत्रबाट संघीय सांसदका लागि सिफारिस गरेको छ । यस्तै काँग्रेसका नेता तथा प्रदेश १ को उद्योग श्रम तथा रोजगार मन्त्रीसमेत रहेका प्रतापप्रकाश हाङ्गाम पनि प्रतिनिधि सभाका लागि सिफारिसमा परेका छन् । उनलाई नेपाली काँग्रेसले ताप्जेलुङबाट सिफारिस गरेको हो । प्रदेश १ को प्रदेशसभामा काँग्रेसका २१ जना सांसद छन् ।
यता तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का ४ जना प्रदेशका नेताले संघमा जाने चाहना राखेका छन् । माओवादीले सिफारिस गरेको नामावलीहरुमा इलाम २ बाट धिरेन्द्र शर्मा, झापा ३ बाट पूर्णप्रसाद राजवंशी, झापा ४ बाट झलकसिंह दर्लामी र खोटाङबाट रामकुमार राई रहेका छन् । सिफारिसमा परेका दर्लामी हालका प्रदेश १ का कृषिमन्त्री हुन् भने राई खानेपानी तथा सिंचाई मन्त्री रहेका छन् । शर्मा र राजवंशी भने प्रदेश सांसद हुन् । माओवादी केन्द्रका सांसदहरु प्रदेश १ मा १५ जना छन् ।
यस्तै संसदको चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट संघमा जान चाहनेहरु २ जना देखिएका छन् । हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सो पार्टीले भोजपुर निर्वाचन क्षेत्र र सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रबाट संघमा सिफारिस गरेको छ । राईले आफू भोजपुरबाटै चुनाव लड्ने बताइसकेका छन् ।
यस्तै हालका सामाजिक विकास मन्त्री राजन राईको नाम पनि संघीय सांसदको नाम सिफारिस भएको छ । उनको नाम खोटाङबाट सिफारिसमा परेको हो । १० जना सांसद रहेको नेकपा (एस)मा अन्य ८ सांसदहरुले संघमा लड्न चासो देखाएका छैनन् ।
हालसम्म प्राप्त विवरण अनुसार काँग्रेस र एमालेको जिल्लाबाट प्रदेश समितिबाट शतप्रतिशत सिफारिस भएको छ भने माओवादी केन्द्रले सोलुखुम्बुबाट नाम सिफारिस गर्न बाँकी छ । प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि नेपाली काँग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५९ जनाको नाम सिफारिस भएको हो । सिफारिस भएकामध्ये एमालेबाट १३ जना, काँग्रेसबाट १० र माओवादी केन्द्रबाट ११ जनाको एकल नाम सिफारिस भएको हो ।

