विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शन (सिएनआई एक्स्पो) हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सिएनआई एक्स्पो हुने भएको हो ।
परिसंघले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी आउँदो माघ १९ देखि २८ गतेसम्म विराटनगर २ शंकरपुरमा एक्स्पो लाग्ने जानकारी गराएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो लगाउन लागिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । दश दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी तथा बिक्री वितरण हुनेछ । मेलाले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवर्धनको र पर्यटन विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोडने उद्देश्यले एक्स्पो गरिएको मेलाको संयोजक राजेन्द्र राठीले बताए ।
एक्स्पोमा विविध मनोरञ्जन र सांस्कृतिक कार्यक्रमहरू तथा फन पार्क समेत रहने भएको छ । एक्स्पोले स्वदेशी बस्तु उत्पादन, बजार व्यवस्थापन , उपभोक्ताका माझमा नयाँ प्रविधि र बस्तुको पहिचान, प्रवर्धनको मद्यमाबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए । मेलामा औद्योगिक उत्पादनहरू, कृषिका आधुनिक यन्त्र उपकरणहरू अटो मोवाइल्स , उत्पादन र सेवा मूलक उद्योगका सामाग्रीहरू शैक्षिक , स्वास्थ्यको स्टलहरू रहनेछन् ।
एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित ३५० स्टलहरू रहने सह संयोजक गिरिजा सारडाले जानकारी दिइन् । एक्स्पोमा नेपालसँगै भारत, चीन, बङ्गलादेश र पाकिस्तान लगायत अन्य विभिन्न मुलुकका उत्पादनहरू बिक्री वितरणमा हुनेछन् ।
एक्स्पो करिब साढे ३ लाख बढी उपभोक्ताहरूले अवलोकन गर्ने अपेक्षा राखेको छ । करिब ५० करोड बराबरको कारोबार हुने अध्यक्ष घिमिरेले बताए ।
‘एक्स्पोमा नयाँ सञ्चार तथा इलेकट्रोनिक्स प्रविधिको पहिचान सँगै कृषिमा हुँदै गएको आधुनिकीकरण स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादनका साथै व्यवसायीकरण, पर्यटनको सम्भावना सँगै ती स्थानहरूको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ,’ परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले भने, एक्स्पोबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगानीकर्ताहरू समेत आकर्षित हुने हाम्रो विश्वास रहेको छ ।’

