—होटलमा बर्थ डे मनाएर फर्किएकी युवतीकी प्रेमीलाई नियन्त्रणमा लिएर साँझ सामुहिक बलात्कार ।
—जिप चोरी गरेर जोगवनीतर्फ भाग्दा दुर्घटना ।
—कोशी राजमार्गको मुनालपथमा पार्किङ गरेर राखेको कार दिउँसै चोर्ने प्रयास ।
हालसालैका यी प्रतिनिधि घटनाहरुले विराटनगरको सुरक्षा अवस्था उजागर गरिरहेको छ । किनकि विराटनगर अब पहिले झैं औधोगिक सहर र जिल्लाको सदरमुकाम मात्र रहेन । प्रदेश राजधानी हो । जसले गर्दा यहाँको जनसंख्या बढ्दो क्रममा छ । नगरबाट महानगरमा स्तरोनन्ति भइसकेको सहरको सुरक्षा अवस्थाभने भरपर्दो छैन । अझै केही थान पुराना सिसी टिभी क्यामेरा र थोत्रा सिआरभी भ्यानको सहाराले पुरानै प्रवृत्तिको जनशक्ति प्रयोग गरेर सुरक्षाको अवस्थामा सुधार आउने अवस्था पनि छैन ।
राजधानी बनेसँगै भिआइपीहरुको चहलपहल पनि बढेको छ । प्रदेशदेखि संघसम्मका सांसद, मन्त्रीहरु, उच्च तहका कर्मचारीदेखि विभिन्न कार्यालयका प्रमुखहरुको बसोबास यहीं छ । राजधानी भएपछि मुख्यमन्त्री, मन्त्री, सांसद तथा उच्च ओहोदाका कर्मचारीसम्मको ‘मुभमेन्ट’ बाक्लिएको छ । सँगसँगै औधोगिक र व्यापारिक नगरी भएकोेले व्यवसायिक गतिविधि र त्यसँग सम्बन्धित मानिसहरुमो आवतजावत चल्नेनै भयो ।
कूल ७६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगर प्रदेशको राजधानी भएपछि सेवा लिने प्रदेशवासीहरुको आउजाउ पनि बाक्लिने नै भयो । विराटनगरमा झण्डै ३ लाख मानिस बसोबास गर्दछन् । प्रशासनिक संरचनामात्र नभई शिक्षा, स्वास्थ्य र उद्योग व्यपारका महत्वपूर्ण संरचनाहरु पनि सञ्चालनमा छन् ।
बढी जनधनत्व र आवागमन हुने तथा सीमा क्षेत्रसँग जोडिएको राजधानी सहर भएकोले विविध अपराधका घटनाहरु पनि हुने गरेको प्रहरीनै बताउँछ । पसल फुटाउने, घर लुट्नेदेखि साइकल र मोटरसाइकल चोरको पनि बिगबिगीनै छ । भारतको बिहार राज्यसँग जोडिएका कारणले पनि अपराधमा नयाँ नयाँ प्रयोगहरु भइरहेको प्रहरीको बुझाइ छ । अपराधमा दोहोरो नागरिकता हुनेहरुको संलग्नता पनि देखिने गरेको छ । लागुऔषधको कारोवार, चेलिबेटी बेचबिखन, हतियार र नक्कली नोटको कारोवार, तस्करीदेखि साधारण चोरीसम्ममा त्यस्ता व्यक्तिहरुको संलग्नता देखिन्छ ।
विराटनगर क्षेत्रमा सुरक्षा प्रयोजनमा जम्मा ५५ वटा मात्र सिसीटिभी जडान गरिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले ३० वटा र ट्राफिकले जडान गरेको २५ वटा सिसीटीभीबाट सुरक्षा मनिटरिङ गरिरहेको छ । जिल्ला प्रहरीको सिसीटीभी १० वर्ष पहिले जडान भएका हुन् भने ट्राफिकले पछि जडान गरेको हो । जिल्ला प्रहरी र ट्राफिक कार्यालयमा छुट्टाछुट्टै कन्ट्रोल रुम मार्फत निगरानी हुने गरेको छ । पुरानो भएकोले पटकपटक बिग्रने समस्याले कतिपयबेलामा सुरक्षा कार्यमा असर पुग्ने गरेको छ । अहिलेपनि ३२ मध्ये दुई वटा सिसीक्यामेरा बिग्रिएको छ ।
अपराधमुक्त राजधानी बनाउन १५० थान थप सिसीटीभी क्यामेरा प्रहरीले माग गरेको छ । विराटनगरमा कम्तिमा पनि ३०० ठाउँमा त्यस्ता क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रहरीले तीनै तहका सरकारसँग माग गरेको छ । तत्कालका लागि ७२ ठाउँमा फिक्स र घुम्ने खालको क्यामेरा जडान गरिहाल्नु पर्ने अवस्था रहेको प्रहरीले भनिरहेको छ । पर्याप्त क्यामेरा जडान गर्न नसक्दा कतिपय अवस्थामा प्रहरीले सिसीटीभी फुटेज लुकाएको, नदिएको जस्तो आरोपको सामना गरिरहेको गुनासो प्रहरीलेनै गर्नुले पनि यसको आवश्यकता बुझ्न सकिन्छ ।
अर्कोतिर बंैक तथा वित्तीय संस्थाहरु पनि बढेका छन् । न्यून जनशक्तिले ती सबै क्षेत्रमा सुरक्षा दिनु अवश्यपनि चुनौतीपूर्ण छ । कमसेकम सिसीटीभी क्यामेरा जडान गर्दा सुरक्षा सहजता हुन्छ र सुरक्षा अवस्थामा सुधार ल्याउन सकिन्छ भने सरकारले त्यसमा लगानी गर्नुपर्छ । सँगसँगै सुरक्षाकर्मीको संख्या पनि बढाउनु पर्छ ।
तत्काल घटनास्थलमा पुग्ने उद्देश्यले प्रहरीले स्थापना गरेको सिआरभी टोलीसँग आठवटा भ्यान छन् । बिग्रेर ग्यारेजमा पुगेका कतिपय भ्यान बन्ने ठेगान हुँदैन । भएका पनि धेरै पुराना भइसके । कतिपय त ठेलेर स्टार्ट गर्नुपर्ने अवस्थाका छन् । जसले समयमा घटनास्थलमा नपुगेको गुनासो झेलिरहनु पर्छ । गाडीलाई आवश्यक पर्ने इन्धनको व्यवस्था छैन दैनिक पाँच लिटरले पु¥याउनु पर्ने बाध्यता छ । त्यसले कभरेज एरियामा गस्ती गर्नसमेत पुग्दैन । वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको गाडी तथा सिआरभी भ्यान मार्फत् नियमित गस्ती र सुरक्षा प्रबन्ध गर्नुपरिरहेको अवस्थामा गाडीको संख्या बढाउन पनि सरकारले ध्यान दिनुपर्छ ।

