विराटनगर । नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डीन कार्यालय तथा क्याम्पस प्रमुखको कार्यकक्षमा बिहीबार ताला लगाएको छ ।
विश्वविद्यालय विधार्थीको मागका सन्दर्भमा उदासिन भएको र विभिन्न चरणमा गरिएका मागको सम्बोधन नभएको भन्दै नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय इकाई समितिले विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुख कृष्ण दाहलकोमा यस अघि लगाएको तालाबन्दीलाई निरन्तरता दिई डीन कार्यालय तथा उपकुलपति यादवराज कोइरालाको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

कलेज प्रशासन तथा नीति निर्माण तहमा रहेका पदाधिकारीहरु विद्यार्थीको हकहितमा सक्रिय नभएकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्रि इकाई समितिका सभापति अमीर कार्कीले बताएका छन् ।पुसेट इकाई कार्यसमितिका कार्यवाहक इकाई सभापति सुमन राउतले विज्ञप्ति निकाल्दै शान्तिपुर्ण रुपमा विज्ञप्ती बुझाई माग गर्दा पनि वास्ता नगरेकाले कार्यकक्षमा तालाबन्दी गरेको राउतले बताएका छन् ।

विज्ञप्तीमा तालाबन्दी तथा अन्य विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमले पर्न जाने क्षति स्वयम विश्वविद्यालयले व्यहोनुपर्ने चेतावनी दिइएको छ । विद्यार्थी संगठनले यस अघि भदौ १० गतेबाटै पदाधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएका थिए । आफुहरु वार्ता र संवादमा विश्वास गर्ने भए पनि पटकपटक आग्रह गर्दा पनि उपकुलपति छलफलमा नआएकाले आन्दोलनलाई थप बढावा दिएको सभापति कार्कीले बताए ।

नतिजा समयमा प्रकाशन नहुनु, प्रयोगात्मक परीक्षामा अनुपस्थित भएकाले पुनः लिखित समेत दिनुपर्ने नियम बनाएको र विषयगत शिक्षकहरु समेत उक्त नियमबारे जानकार नहुनु , मौका परीक्षाको व्यवस्था नगर्नु क्याम्पस तथा परीक्षा नियन्त्रण शाखाको लापरवाही भएको विद्यार्थीहरुको आरोप छ ।