विराटनगर । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ६ रुपैयाँ १२ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १०० रुपैयाँ घटेर आएको छ ।

यता, नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब ५० करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ । यसअघि भारतीय आयल कर्पाेरेसनले लगातार ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो ।

तर, सो समयमा निगमले मूल्य नघटाउँदा सर्वत्र विरोध भएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३.६ डलरमा झरेको छ ।