अस्पतालहरूको उत्पादित फोहोर खोलामा फालिने क्रम बढेपछि सङ्क्रमण फैलिने त्रास

बिर्तामोड । झापाका अस्पतालहरूको उत्पादित फोहोर खोलामा जथाभाबी फालिने क्रम बढेपछि सङ्क्रमण फैलिने त्रास बढेको छ ।

बिर्तामोडमा सञ्चालित अधिकांश हस्पिटलबाट उत्पादन भएका फोहोर बिरिङ खोलामा फाल्न थालेपछि रोगको सङ्क्रमण फैलिसक्ने अवस्था उत्पन्न भएको भन्दै स्थानीयले आवाज उठाउन थालेका छन् ।

खोलामा फालिएका फोहोरको थुप्रोमा बिर्तामोडका मनमोहन अस्पताल, बिर्तामोड आँखा अस्पताल लगायतमा उत्पादन भएका फोहोर रहेको पाइएको छ । हस्पिटलमा प्रयोग गरिएका सिरिन्ज, बोतल, प्याड, अपरेसन कक्षमा प्रयोग गरिएका सामग्री, ग्लोब्स तथा रगत लतपतिएका कपडा खोलामा फाल्ने गरिएको पाइएको छ । खोलाको एक किलोमिटर क्षेत्रमा अस्पतालका फोहोरको डङ्गुर देखिन्छ ।

हस्पिटलबाट उत्पादित फोहोर व्यवस्थापनको जिम्मा पाएका ठेकेदारहरूको लापरबाहीका कारण खोलामा फोहोर फालिएको स्थानीयले बताएका छन् । उनीहरूले खोलामा फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आगामी दिनमा त्यो क्रम रोकिनुपर्ने बताएका छन् ।

कनकाई नगरपालिका वडा न ८ र ९ मा पर्ने सो स्थानमा १० औँ गाडी फोहोर फालेको पाइएको छ । पर्यावरणीय सन्तुलनको दृष्टिले जल सतहमा फोहोर विसर्जन गर्न फाइँदैन । त्यसमा पनि अस्पतालबाट उत्पादन हुने फोहोर त झन् सुरक्षित तरिकाले नष्ट गरिनु पर्ने वातावरण विज्ञहरूको भनाई छ ।

‘अस्पतालको फोहोर खोलामा फाल्नु भनेको गम्भीर अपराध हो, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने– ‘उनीहरूलाई कानुन बमोजिम कारबाही हुन्छ ।

खोलामा फालिएका फोहोरका पोकामा बिर्तामोडका विभिन्न अस्पतालका पुर्जी भेटिएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्पतालजन्य फोहोरको व्यवस्थापन सम्बन्धित अस्पतालले नै गर्ने गरेको बताए । ‘अस्पतालको फोहोर नगरपालिकाले उठाउने गरेको छैन । उनीहरू आफैले व्यवस्थापन गर्दै आएका छन् । अस्पतालजन्य फोहोर खोलामा फाल्नु गम्भीर गल्ती हो,’ उनले भने ।

खोलामा फोहोरको डङ्गुर थुप्रिएको थाहा पाएपछि सामाजिक अभियन्ता शेरबहादुर थापा, कमलबहादुर थापा तथा गणेश ढुङ्गाना सहितको टोलीले खोलाबाट फोहोर झिक्न थालेको छ । उनीहरूले अस्पतालबाट उत्पादन हुने फोहोर झनै सङ्क्रामक हुने भएकाले त्यसलाई झिकेर किनारामा राख्न थालेको बताए ।

मङ्गलबार, ०७ भदौ, २०७९, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर