विराटनगर ।कोशी अस्पताल विराटनगरको सर्जरी विभाग बिस्तार भएको छ । ३ करोड १ लाख ७ हजार १६४ रूपैयाँ लागतमा निर्माण भएको कोशी अस्पतालको ओपीडी भवनको माथिल्लो तलामा सर्जरी विभाग विस्तार भएको हो ।
विस्तार भएको सर्जरी वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ्गले आइतबार उद्घाटन गरे । सर्जरी विभागमा चार वटा अप्रेसन थिएटरसहित ५० शय्या रहेको अस्पतालका सर्जरी विभाग प्रमुख डा.रवि बास्टकोटीले जानकारी दिए ।
यसअघि सर्जरी विभाग अस्पतालको पुरानो गाइनो वार्डको भवनमा रहेको थियो । गाइनो, सर्जरीको अप्रेसन थिएटर एकसाथ रहँदा सेवा प्रवाहमा पनि समस्या भइहरेको थियो । नयाँ भवनमा सरेसँगै ३६ बेडको विभागलाई ५० बेड बनाइएको छ ।
नयाँ भवनमा बिस्तार भएको सर्जरी विभागमा विरामीलाई सहजको लागि लिफ्ट पनि रहेको छ । अब सर्जरी वार्डबाट विरामीले छिटो र छरितो सेवा पाउने अस्पतालका मेसु डा.यज्ञराज खरेलले बताए । ‘अहिले एकै पटकमा चार जनासम्म सर्जरी गरिनुपर्ने विरामी राखेर सर्जरी गर्नसक्ने पूर्वाधारसहितको उपकरणहरू जडान गरिएको छ’ उनले भने, ‘शल्यक्रिया गरेपछि राखिने पोस्टअप वार्डमा १० शय्या रहेको छ ।’
नयाँ भवनबाट दैनिक ५ देखि १० जनासम्म विरामीको सर्जरी गर्न सकिने अस्पतालले जनाएको छ । तर, सर्जरीको अप्रेसन थिएटरमा प्रयाप्त जनशक्ति हुन नसक्दा समस्या हुने चिकित्सकहरूले बताएका छन् । वार्डमा नर्स तीन जना र एक जना हेल्थ असिस्टेन्ट रहेका छन् । सर्जरी गर्ने १० जना चिकित्सक भएपनि नर्सको अभावमा समस्या हुने गरेको अस्पतालले जनाएको छ ।
चार वटा अप्रेसन थिएटरको लागि दुई सिफ्टमा १५ जना नर्स आवश्यक पर्ने बताइन्छ । अस्पताल मेसु डा.खरेलले जनशक्ति अभावको विषयमा स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको बताए । ‘मन्त्रीज्यूले पनि सकात्मक रहनुभएको छ । रिक्क्त रहेको स्वास्थ्यकर्मी र नर्सहरू पदपूर्ति गर्ने बताउनुभएको छ,’ उनले भने, ‘केही दिन भित्रमा पदपूर्ती भएपछि सेवा प्रभावमा सहजता हुनेछ ।’
अस्पतालको मेडिकल भवन पनि बिस्तार गरिसकेको छ । २ करोड ६ लाख ८६ हजार ९५७ रूपैयाँ लागतमा कोशी अस्पतालको लिफ्टसहितको मेडिकल भवन निर्माण सम्पन्न भएको हो । भवनमा ३७ शय्याको मेडिकल वार्ड रहेको छ ।