विराटनगरमा संयुक्त गाईजात्रा (फोटो)

विराटनगर । विराटनगरमा आज संयुक्त गाइजात्रा गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व विराटनगरमा पनि मनाइएको हो । नेवार समुदायमा मृतकका परिवारले आज बिहान गाईजात्रा निकालेका हुन् । उनीहरुले जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी विराटनगर बजार घुमाएका छन् ।

हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो।

आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

शुक्रबार, २७ साउन, २०७९, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर