एमालेले बिर्सिएर हर्कले समाएको लय

  बिक्रम लुइटेल

गएको स्थानीय चुनावमा सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ले अप्रत्यासित जित निकाले । नेकपा एमालेको गढ मानिएको धरानमा एमालेको यो पराजयले कार्यकर्ताहरुमा निराशा त ल्यायो नै, उम्मेदवार छनोट प्रक्रियाका विषयमा पनि प्रश्नचिन्ह उठायो । कमिटिगत प्रणालीमा चुनावको समिक्षा के कति भयो, त्यो बाहिर आएको छैन । तर, आम एमालेका नेता कार्यकर्ता यतिखेर पश्चतापमा छन् । मनमोहन अधिकारी जस्ता त्यागी र इमान्दार नेताले चुनाव जितेको धरान यतिखेर एमालेका लागि बेचैनीको केन्द्र बनेको छ । नयाँ पुस्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता र दलका नेताहरुप्रति आजित भएकाहरु खुसी छन् ।

मनमोहन मात्र होइन त्यहाँ मेयर जितेका ध्यानबहादुर राई र मनोज म्याङ्बोसम्म आइपुग्दा वामपन्थीहरुप्रतिको पकड उत्तिकै थियो । धरानमा सहभागितामूलक योजनाहरु सफल हुन्थे । धरान मात्र होइन, बाहिरतिर पनि उत्तिकै चर्चा हुन्थ्यो । एक लाख नगरपालिकाले हालेको काममा धरानेहरुले दोब्बर रकम हालेर काम गर्छन् भनेर भन्ने सन्देश थियो । सहभागितामूलक योजनाहरु सञ्चालन गर्न धरानलाई नमुना मानिन्थ्यो । त्यसको नेतृत्व एमालेले गरेको थियो । यस्ता अभियानका कामहरु तराई झर्दै जाँदा त्यति सफल थिएनन् । नेकपा एमालेको सरकारले २०५१ सालमै अघि सारेको आफ्नो गाउँ आफै बनाउ एउटा उत्कृष्ट मोडल थियो । जुन मोडलले अहिले धेरै फड्को मारेको छ । आफ्नो गाउँ आफै बनाउ भनेर एमालेले हरेक गाविसमा दिएको ३ लाखमा काम सुुरु गर्दा गाउँगाउँमा मान्छेहरु श्रमदानका लागि ताँती लागेर आउथे । वास्तवमा यो श्रमदानको लय जनतासँग जोड्ने ठुलो कसी थियो । यसैको बलमा एमालेले देशव्यापी रुपमा संगठन विस्तार गर्यो । दलहरुका लागि सबैभन्दा ठुलो कुरो विकासमा जनता जोड्नु हो । यही जोडाइले एमाले देशको ठुलो पार्टी बन्यो ।

एमालेका स्थायी समिति सदस्य गुरु बराल त्यतिखेरको सम्झना गर्दै भन्छन्, ‘एमालेको नेतृत्वामा ठुलाठुला श्रमदानहरु हुन्थे । तर, आज हामीले त्यसलाई बिर्सदा अरु कसैले समातेका छन् । जबजको एउटा पाटो जनतासँग जोडिनु पनि हो । त्यो हामीले बिर्सियौँ ।’यतिखेर धरानमा एमाले र मेयर हर्क साम्पाङबीच असझदारी देखिन्छ । यो कहाँ गएर टुंगिने हो थाहा छैन । तर, गुरु बरालले भने जस्तो एमाले भने जनतासँग जोडिरहनु पर्छ । यहि नजोडिँदा र युवा पंक्तिलाई नसमेट्दा एमाले अहिले घेराबन्दीमा छ । राजनीतिक रुपमा घेराबन्दी जस्तो देखिएपनि यदि एमालेले जनतासँग जोडिने र युवा पंक्तिलाई समेट्ने स्प्रिड लिएको भए अहिलेको घेराबन्दीले कुनै असर पर्ने थिएन् । बरु धरानको सन्दर्भमा कम्तिमा सय दिन मेयरका गतिविधिलाई एमालेले निस्फिक्री छोडिदिनु पथ्र्यो । त्यसो गरेको भए परिपक्क राजनीति देखिन्थ्यो । यसतर्फ एमालेको नेतृत्वको ध्यान जानु जरुरी छ । साथै एमालेले आफूले आफ्नो पुराने पृष्ठभूमिलाई बिर्सिएर त्यो लय अरुलाई पक्रन दिने होइन् । त्यसको जस आफूले लिने हो । यस्ता खालका जनतासँग जोडिने र श्रमदानको विषय कम्युनिस्टहरुको नीति हो ।

एमालेले आफूले जितेका पालिकामा नलजाइकन, अप्ठ्यारो नमानीकन, मैलो लाग्छ कि नभनीकन श्रमसँग जोडिएका अभियान गर्दै राम्रै हुन्छ । नीतिगत नेतृत्व गर्दै राम्रा राम्रा निर्णय गर्ने र जनतालाई जोड्ने विषयमा एमाले अब चुक्नु हुँदैन ।

शुक्रबार, २७ साउन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर