विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले अर्थ मन्त्रालयको कार्यसंचालन निर्देशिका विपरीत बजेट निर्माण प्रोत्साहन भत्तावापत ९ जना कर्मचारीलाई १ लाख ८० हजार रुपैयाँ वितरण गरेको पाइएको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धि नीति मार्गदर्शन २०७५ मा कार्यालयमा आर्थिक भार पर्ने हिसावले अनुत्पादक क्षेत्रमा खर्च गर्न हुँदैन । तर, कानेपोखरी गाउँपालिकाले भने २०७८ असार ८ गतेको कार्यपालिका बैठकमा निर्णय गरी आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभा बजेट अधिवेशनका लागि आवश्यक तयारी गर्न, बजेट नीति कार्यक्रम निर्माण, बजेट तयारी, सूत्र प्रणालीमा प्रविष्ट गर्ने लगायत काम २०७८ जेठ २० गतेदेखि बेलुका निरन्तर ८ बजेसम्म गरेको भनि भत्ता वितरण गरेको हो । ९ जना कर्मचारीलाई गाउँपालिकाले २० हजारका दरले प्रोत्साहन स्वरूप भुक्तानी दिने निर्णय गरेको हो ।
यसरी भत्ता लिनेमा प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा अधिकृत अजित भट्टराई, कर्मचारीहरु यादव निरौला, नारायण दंगाल, गोविन्दप्रसाद फुयल, अलङ गुरुङ, अशोक घिसिङ, चुडामणि कोइराला र सचिवालय कर्मचारी गणेश सुवेदी रहेका छन् ।
यसैबीच मोरङको कानेपोखरी गाउँपालिकाले मृत्यु भइसकेका र सेवा निवृत भइसकेका शिक्षकलाई समेत तलव निकासा गरेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा गाउँपालिकाले २०७७ साल पुस ८ गते मृत्यु भएका बाल मावि कानेपोखरी ३ का शिक्षकलाई ५१ हजार ५ सय रुपैयाँ निकासा गर्नु पर्नेमा १ लाख २१ हजार ९७४ रुपैयाँ निकासा गरेको हो । यस्तै २०७७ जेठ २१ गते मृत्यु भएका जनमत सरस्वती आधारभुत विद्यालय कानेपोखरी २ का शिक्षक जनकसिंह दनुवारलाई ५६ हजार ५३७ रुपैयाँ निकासा गर्नु पर्नेमा १ लाख १ हजार ७६७ रुपैयाँ निकासा दिएको छ ।
२०७८ जेठ १९ गते सेवा निवृत भएका बाल मावि कानेपोखरी –३ का शिक्षक जयराम झाले पाउनु पर्ने रकम ८४ हजार ७८ रुपैयाँ थियो । तर, गाउँपालिकाले १ लाख ५७ हजार ६४७ रुपैयाँ निकासा दिएको देखिएको छ । तीनै जना शिक्षकलाई कुल १ लाख ८९ हजार २७३ रुपैयाँ रकम बढी दिइएको देखिएको छ । उक्त बढी भएको रकम असुल उपर हुनुपर्ने महालेखाले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।