कोरोनाले तेह्रथुम र भोजपुरमा विद्यालय बन्द

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

समुदायस्तरमै व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएपछि एक साताका लागि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए ।

गाउँपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षा शाखाको सिफारिसमा गाउँपालिकाले विद्यालय बन्द गराएको हो । शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमका अनुसार विद्यालय बन्द भएपछि २३ विद्यालयका करिब २ हजार विद्यार्थी घरमै छन् ।

शिक्षक र विद्यार्थीसँगै समुदायस्तरमै तीव्र रूपमा कोरोना संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष खापुङको भनाइ छ । खापुङ आफै पनि कोरोना संक्रमित भएपछि उपचाररत अवस्थामा छन् ।

एक सातासम्म विद्यालय बन्द रहने ६ नम्बर वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि आएका ४० जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको मेन्छ्यायेम अस्पतालकी डा. प्रशंसा न्यौपानेले बताइन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमा सुख्खा खोकी र ज्वरोको लक्षण देखिएको डा.न्यापानेको भनाइ छ । सुख्खा खोकी र ज्वरोको समस्या लिएर आएका सबैजसो बिरामीमा कोरोना पोजिटिभ देखिएको उनले बताएकी छन् ।

यस्तै कोरोना संक्रमण बढेपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीन वटा विद्यालय बन्द गरिएको छ ।
टेम्केमैयु वडा नं. ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं. ७ को जनोदय मावि बन्द गरिएको हो ।

बाघधन रणदीपा राई माविका ५ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । २७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द लम्ब्याउने भन्ने टुंगो लगाइने प्रधानाध्यापक डम्बर राईले बताए ।

वडाकै छाङछाहाङ प्राविकी एक शिक्षिका र दुई विद्यार्थीमा समेत कोरोना देखिएपछि दुई दिनका लागि विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको छ । विद्यार्थीको अवस्था हेरेर बिदा लम्ब्याउने वा विद्यालय सञ्चालन गर्ने भन्नेबारे टुङ्गो हुने बताइएको छ । विद्यालयमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउनेलगायत लक्षण देखिएका बिरामी बढेका छन् ।
सोही पालिकाकै वडा नं. ७ कोटको जनोदय माविका प्रअसहित १३ जनामा कोरोना देखिएपछि २७ गतेसम्मकै लागि विद्यालय बन्द गरिएको छ । प्रअ अरुण चौधरीका अनुसार आफूसहित दुई शिक्षक र ११ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो ।

वडा नं. ८ गोगनेमा पनि कोरोना संक्रमितको संख्या बढेको गाउँपालिकाले जनाएको छ । बिरामीको संख्या बढेको जानकारीपछि परीक्षणको तयारी गरिएको टेम्केमैयु गाउँपालिका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए ।

 

मङ्गलबार, २४ साउन, २०७९, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर