विराटनगर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले विद्यार्थीलाई उत्पादनसँग पनि जोडेर गाउँमै उत्पादन बढाउन सहयोग पुर्याइरहेको छ । विद्यालयले विद्यार्थीलाई उत्पादन मात्रै नभई बजारीकरणमा समेत जोड दिने गरेको छ ।
बाली विज्ञानका पढाइ हुने यस विबद्यालमा शुरूमा बाली विज्ञानका विद्यार्थीलाई पढाइसँगै तरकारी र फलफूल उत्पादन गर्न सिकाएको विद्यालयले अहिले अन्य विषय पढ्ने विद्यार्थीलाई पनि उत्पादनसँग जोडेको छ ।
‘सुरुवात समयमा त विद्यार्थीलाई कुटो कोदालो बोकेर खेतवबारीामा काम गर्दा मलाई पनि धेरै अपठ्यारो लागेको थियो,’ विद्यालयका प्रधानाध्यापक रामकुमार राईले भने,‘अविभावकले पनि हौसला दिएपछि भने नयाँ नयाँ प्रविधिको प्रयोग गरेर खेति गर्न सिकाउन थालेका छौं ।’
विद्यार्थीले विषादीरहित उत्पादनमा जोड दिइरहेका छन् । मल बोक्ने, बारी खनजोत, तरकारी गोडमेल विद्यार्थी आफैंले गर्छन् । सामूहिक प्रयासको अभ्यासमा उत्पादन सँगसँगै सिकिरहेका छन् ।
‘पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता देखिने गरेको छ । पढेकाहरूले पनि आफ्नै देशको माटोमा पौरख गर्न सक्छन् । अझ भन्ने हो भने पढाइ अनुसारको काम गर्यो भने उत्पादनमा पनि सहयोग पुग्छ । मरुभूमिमा उत्पादन भएका वस्तु हामी खाइरहेका छौं । ढुंगा फल्दा सुन फल्ने देशमा भने माटो सुहाउँदो पढाइ पनि भइरहेको छैन,’ प्रअ राईले भने ।
विद्यालयमा सिकेको कुरा घरमा गएर अभिभावकलाई पनि विद्यार्थीले सिकाउन थालेका छन् । परम्परागत खेती गर्ने अभिभावकलाई विद्यार्थीले नयाँ प्रविधिको प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेका छन् ।
‘प्रयोगात्मक सहितको सिकाइले उत्पादन पनि बढ्दो रहेछ,’ विद्यार्थी रुमि राईले भनिन्, ‘यसरी खेती गर्दा हाम्रो उत्पादन पनि बढ्दो रहेछ भनेर अभिभावकलाई सिकाउने गरेका छौं ।’

विद्यार्थीले घरमा सिकाउँदा अभिभावक पनि खुशी भएका छन् । छोराछोरीले लगाएको बाली देखेर अभिभावक दंग पर्ने गरेका छन् । छोराछोरीले खेतीको काम गर्दा पढ्न भ्याउँदैनन्, पढाइ बिग्रन्छ भन्ने अभिभावक समेत नतिजा देखेपछि खुशी छन् ।
विद्यार्थीले उत्पादन गरेका वस्तुको बजारीकरण समेत आफैंले गर्ने गरेका छन् । स्थानीयस्तरमा साप्ताहिक रूपमा लाग्ने हटियामा उत्पादन बेच्ने गरेका छन् । टमाटर, काँक्रा, खुर्सानी, आलु, च्याउ, गाँजर लगायतका तरकारी हटियामा लगेर बेच्ने गरेका छन् ।
विद्यालय प्राङ्गणको छेउमा हटिया लाग्ने गर्छ, त्यहीँ लगेर विद्यार्थीले बेच्ने गरेका छन् । अहिले घरमा उत्पादन भएका वस्तु पनि विद्यार्थीले हटियामा ल्याउने गरेको प्रअ राईले बताए । उत्पादित कृषि उपज बिक्री गरी नाफा कमाएको पैसा पठनपाठनमा खर्च गर्ने गरिएको छ ।
‘आफैंले खेती गरेपछि त्यसलाई गोडमेल गर्नुपर्छ, पानी लगाउनुपर्छ भन्ने हुँदो रहेछ,’ ११ कक्षामा पढ्ने विद्यार्थी कुवेर खत्रीले भने, ‘घरमा गएर पनि खेतीबारीमै एकछिन भुल्छौं, कृषि विषय पढेका हौं, पढेर आफैं खेती गरेपछि सिक्न सजिलो भएको छ ।’ खेती गर्दा नयाँ–नयाँ प्रविधिबारे पनि थाहा हुने गरेको उनले बताए ।
विगत ३ वर्षदेखि ९ कक्षामा कृषि प्राविधिक विषयमा पठनपाठन शुरू गरेसँगै विद्यार्थीलाई प्रयोगात्मक, व्यावसायिक र व्यावहारिक ज्ञान दिनमा विद्यालयले ध्यान दिएको छ । विद्यार्थीको हौसला देखेपछि विद्यालयले जग्गा लिजमा लिने तयारी समेत थालेको छ ।
विद्यालय नाफामूलक संस्था नभएकाले नाफा–घाटाभन्दा पनि उत्पादनसँग जोडिएर अग्र्यानिक कृषिमा विद्यार्थीलाई आकर्षित गर्ने लक्ष्य विद्यालयको छ ।
रासायनिक मलको सट्टा घरमै बनाइने प्रांगारिक मलबाट पनि राम्रो उत्पादन लिन सकिन्छ भनेर सिकाइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
गाउँको जमिन बाझिने क्रम बढेकाले कृषि विषयको पढाइले किसानलाई पनि कृषि पेशालाई निरन्तरता दिन सघाउने अपेक्षा विद्यालयको छ । कमाउँदै सिक्दै गर्ने कार्यक्रमलाई सरकारले प्रोत्साहन गर्ने योजनालाई विद्यालयको कार्यक्रमले सघाउने विश्वास लिइएको छ । गाउँपालिकाले समेत विद्यालयलाई नमूना विद्यालय भनेर सम्मान समेत गरिसकेको छ ।
रोजगारी तथा उद्यमशीलता विकास गर्नका निम्ति कृषि क्षेत्रबाट राम्रो सम्भावना भएको गाउँपालिका शिक्षा शाखाकी विद्यालय निरीक्षक सुनिता कटुवाल बताउँछिन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।