लोड हुँदैछ...

मेनु

प्रादेशिक सरुवा रोग अस्पतालको काम अलपत्र

प्रादेशिक सरुवा रोग अस्पतालको काम अलपत्र

विराटनगर । संघीय सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण गर्ने तयारी गरेको प्रादेशिक सरुवा रोग अस्पतालको काम अलपत्र परेको छ ।

डेढ वर्षअघि शिलान्यास भएको प्रादेशिक सरुवा रोग अस्पातालको काम अलपत्र परेको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा शिलान्यास भएको अस्पताल निर्माणमा प्रतिष्ठानले दाबी गरेपछि काम रोकिएको हो ।
आफ्नो निर्वाचन क्षेत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले २०७७ माघ १९ गते बेलुका ५० बेडको अस्पताल शिलान्यास गरेका थिए । ढकालले शिलान्यास गरेको अस्पताल निर्माणमा बिपी प्रतिष्ठानले पनि दाबी गरेपछि अलपत्र परेको हो ।

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार दुई तिहाई बहुमतको सरकारका तत्कालीन मन्त्रीले हतारमा शिलान्यास गरेको अस्पतालको काम अघि बढेको छैन । मन्त्री यादवका अनुसार जग्गा प्राप्तिका लागि प्रतिष्ठानसँग सम्झौता पनि भएको थिएन ।

‘बिपीको स्वामित्वमा रहेको जग्गामा सरुवा रोग अस्पताल शिलान्यास गरियो तर पछि बजेट विनियोजन गरेर काम गर्ने कुरा हुँदा बिपीले यो हाम्रो स्वामित्वको जग्गा हो, यसमा छुट्याइएको संघीय सरकारको बजेटले हामीले काम गर्न पाउनुपर्छ भन्यो,’ आइतबारको प्रदेशसभा बैठकमा मन्त्री यादवले भने, ‘त्यो कुरामा बिपी र सरुवा रोगका लागि छुट्टै टिमको (स्वास्थ्य मन्त्रालय) कुरा नमिलेर अहिलेसम्म पाँच वटा इटामात्रै छन् ।’

सुन्दरहरैंचा नगरपालिका ११ मा प्रतिष्ठानको स्वामित्वमा रहेको १४ बिघा जमिन छ । सरुवा रोग अस्पताल निर्माणका तत्कालीन संघीय सरकारले आठ करोड रुपैयाँ बजेट पठाएको थियो । तर, मन्त्रालय र प्रतिष्ठान दुवैले आफैँ निर्माण गर्ने दाबी गरेपछि बजेट फिर्ता गएको थियो । त्यसयता भने बजेट विनियोजन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds