विराटनगर । २०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सुपारी आयातमा परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन कोटा तोक्यो । सीमित व्यापारीलाई अनुमति दिएपछि इन्डोनेसियाबाट धमाधम सुपारी आयात भयो । गत आर्थिक वर्ष मात्रै तीन अर्ब रुपैयाँ बराबरको सुपारी आयात भएको छ ।
भन्सार विभागबाट प्राप्त गोप्य तथ्यांक अनुसार एकै व्यापारीले धेरै फर्म खडा गरेर सुपारी आयात गरेको पाइएको छ । विभागका अनुसार २१ कम्पनीले सुपारी आयात गरे पनि मालिक भने धेरै छैनन् । नेपाल–भारतबीचको राजस्वमा रहेको ठूलो फरकले मनग्य मुनाफा छ । त्यही नाफाका लागि केही व्यापारी र तात्कालिन ओली सरकारले कोटा तोकेको थियो । त्यही कोटा अनुसार व्यापारीले गत वर्ष तीन अर्बको सुपारी आयात गरेका हुन् ।
गत आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा धेरै सुपारी आयात गर्ने दिनेश राठी हुन् । उनको परिवारको नाममा रहेको तीन वटा फर्मले ९२ करोड ५४ लाख रुपैयाँ बराबरको सुपारी आयात गरेको छ । राठीको अम्बे भवानी ट्रेड लिंकले सबैभन्दा बढी सुपारी आयात गरेको छ । यो कम्पनीले ४३ करोड ५७ लाख मूल्य बराबरको सुपारी आयात गरेको छ । राठीले विराटनगरमा ट्रेडिङ फर्म खुलाएर सुपारी आयात गरेका छन् । राठीको अर्को कम्पनी अम्बे इम्पोर्टबाट १३ करोड ६७ लाख बराबरको सुपारी आयात गरेका छन् ।
राठीकै तिरुपति ट्रेड लिंकले पनि ३५ करोड ३० लाखको सुपारी भित्र्याएको छ । यसका संचालक मुलचन्द राठी छन् । मुलचन्द दिनेशका बुबा हुन् । राठी ठूलो आयातकर्ता हुनुमा इन्डोनेसिया र थाइल्याण्ड सुपारी निर्यातकर्तासँग राम्रो सम्वन्ध छ । उसले सुपारी खरीद गर्दा टनमै ३० देखि ५० डलरसम्म कममा पाउँछन् । सस्तो पर्ने भएका कारण भारतीय आयातकर्ताले पनि राठीमार्फत नै सुपारी सौदा गर्छन् ।
श्रीराम टोबाको उद्योग प्रालिले ३५ करोड बराबरको सुपारी आयात गरेको छ । यो उद्योगले बुटवलमा गुट्खा उत्पादन गर्दै आएको छ । यो उद्योग नेपालमा संचालित सबैभन्दा ठूलो उद्योग पनि हो । यो उद्योगले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पालामा पनि कोटा पाएको हो । गुट्खा उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै कम्पनीका संचालक कमलकिशोर मालपानी र चुन्नुप्रसाद पौडेलले देउवा सरकारलाई प्रभावमा पारेर कोटा पाएका हुन् ।
यो उद्योगलाई गत वर्ष उद्योग विभागले २३ सय ३० टन सुपारी आयातको अनुमति दिएको थियो । यो उद्योगले भोला र करेन्ट ब्राण्डमा गुट्खा उत्पादन गर्दै आएको छ । यही समूहले करेन्ट चाउचाउ उद्योग पनि संचालन गरिरहेको छ । सुदूरपश्चिममा रहेको देउती गुट्खा इन्डस्ट्रिजले १० करोड २८ लाख बराबरको सुपारी आयात गरेको छ । यो उद्योगका संचालक यज्ञबहादुर ओली हुन् । देउती गुट्खा उद्योग कैलालीको लम्कीचुहामा छ । यस उद्योगले मेघाश्री ब्रान्डको गुट्खा उत्पादन गर्दै आएको छ ।
टान्भी ट्रेडर्स झापाले २९ करोड ९८ लाख बराबरको सुपारी आयात गरेको छ । यो फर्म पुष्करमाल अग्रवालको नाममा छ । झापाकै अर्को ट्रेडिङ फर्म निलम ट्रेडिङ झापाले २८ करोड ५० लाख बराबर सुपारी आयात गरेको छ । यो फर्म निलम अग्रवालको हो । ग्लोब विराट इन्टरनेशनल प्रालिले २४ करोड ३५ लाख बराबरको सुपारी आयात गरेको छ । यो कम्पनीका संचालक किरणकुमार पोखरेल हुन् ।
पोखरेलकै लगानीको अर्को सुपारी कारोबार गर्ने कम्पनी पनि छ । उनले गंगा ट्रेड लिंक्स लिमिटेडबाट सुपारी कारोबार गरिरहेका छन् । उनी सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भाई हुन् । यस्तै सीएच ट्रेड प्रालिले गतवर्ष २४ करोड ७३ लाख बराबरको सुपारी आयात गरेको छ । यो कम्पनीका संचालक चित्रप्रसाद कुँइकेल हुन् ।
श्यामजी सप्लायर्स एण्ड ट्रेर्डस झापाले २३ करोड ८० लाख बराबरको सुपारी गत वर्ष भित्र्याएको छ । यो कम्पनीका संचालक श्यामसुन्दर अग्रवाल हुन् । विभागका अनुसार घटाल इन्टरनेशनल प्रालिले २२ करोड ८२ लाख बराबरको सुपारी आयात गरेको छ । यो कम्पनीका संचालक नेत्रकुमार कुँइकेल हुन् । उनले पनि २ वटा फर्मबाट कारोबार गर्ने गरेका छन् । कुँइकेलको अर्को फर्म गंगा ट्रेड लिंक प्रालि हो । यो कम्पनीले १५ करोड ११ लाख बराबरको सुपारी आयात गरेको छ । जाभा ट्रेडिङ हाउस काठमाडौंले १४ करोड ९५ लाख बराबरको सुपारी आयात गरेको छ । यो कम्पनीको संचालक ल्हाम डोमा शेर्पिनी छिन् ।
यस्तै पाण्डे एण्ड शर्मा ब्रदर प्रालिले १० करोड ८२ लाख बराबरको सुपारी आयात गरेको छ । यसका संचालक होमप्रसाद पाण्डे हुन् । यस्तै देवी इन्टरनेशनल प्रालि सिन्धुपाल्चोकले ७ करोड १९ लाख बराबरको सुपारी आयात गरेको छ । यो कम्पनीको संचालकमा शेरबहादुर बस्नेत छन् ।
ढुंगुनागढी इन्भेष्टमेन्ट प्रालिले ५ करोड ६० लाख बराबरको सुपारी आयात गरेको छ। यसका संचालक बच्चु पौडेल हुन् । मिरा ट्रेडिङ झापाले ५ करोड ९ लाख बराबरको सुपारी आयात गरेको छ । यसका संचालक मीरादेवी अग्रवाल हुन् । नेशनल मोटर्स मोरङले ३ करोड ८१ लाखको सुपारी आयात गरेको छ । यसका संचालक संजयकुमार अग्रवाल हुन् ।श्री शिवशक्ति प्रोडक्ट नेपालले २ करोड ३ लाखको सुपारी आयात गरेको छ । यसका संचालक कविता अग्रवाल हुन् । महालक्ष्मी ट्रेडर्स ४५ लाख १९ हजार बराबरको आयात गरेको छ । यो फर्मको संचालक उषादेवी शाह हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।