विराटगनर । नेपालका आदिवासीजनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्न नहुने बताएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने बहस चलिरहेको बेला महिलाहरुले भने असहति जनाएका हुन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ छ ।
लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासीमहिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरुले बिमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्वाधपूर्णक लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरुको माग रहेको छ ।
२८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासीमहिलाको विरुद्ध रहेको बताएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासीजनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासीजनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताइन । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको पेटेन्ट राइट्स (प्रतिलिपि अधिकार) आदिवासीमहिलामा हुनुपर्ने उनको भनाइ रहेको छ ।
अध्यक्ष लामाले भने– ‘ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासीमहिलाहरुबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको पेटेन्ट राइट्स आदिवासीमहिलासँग मात्र हुन्छ । यो अरुको हुन सक्दैन ।’
राष्ट्रिय आदिवासीजनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले बौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासीजनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेत्र गर्ने नीति अघि सारिएको आरोप लगाए ।आदिवासीजनजाति महिला ज्ञानको खानी रहेको भन्दै उनीहरुको ज्ञानलाई परम्परागत रुपमै संरक्षण गर्नुपर्नेमा उनको जोड रहेको छ । परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिबन्ध लगाउने भन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ रहेको छ ।
राष्ट्रिय आदिवासीजनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासीजनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।
महासचिव देवानले भने– ‘आदिबासी जनजाति समुदायमा रक्सी उत्पादन परम्परागत ज्ञान र अर्थव्यवस्था हो । त्यसबाट नै आदिवासीजनजातिको परिवार चलेको छ । त्यसैले यो ज्ञानको संरक्षण राज्य नै गर्नुपर्छ ।’विश्वका आदिबासीहरुले हरेक वर्ष ९ अगष्टलाई ‘विश्व आदिवासीदिवस’को रुपमा मनाउने गरेका छन् । आदिवासी जनजातिका अधिकार संरक्षण गर्ने र चेतना जगाउने उद्देश्यले मनाइने यो दिवस नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।
नेपालमा कृयाशील आदिवासीजनजातिसम्बन्धित संघ संस्थाहरुले हरेक वर्ष संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै आएका छन् ।विश्व आदिवासीदिवसका लागि हरेक वर्ष फरक–फरक नारा तय हुन्छ । यस वर्षको मूल नारा ‘आदिवासीज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासीमहिलाको भूमिका’ रहेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।