कोशी अस्पतालको आकस्मिक कक्षमा थपियो २८ शैय्या

शैय्या थप भएसँगै झ्यालमा राखेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भयो : सुपरिटेन्डेन्ट यज्ञराज खरेल 

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरी बिरामीको उपचारमा सहज बनाएको छ । बिरामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको हो ।

यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा मात्र शैय्यामा राखेर उपचार गरिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको थियो । २८ वटा शैय्या थप गरी अहिले ४० वटा पुगेपछि उपचार सेवामा थप सहजता हुने कोशी अस्पतालका सुपरिटेन्डेन्ट (मेसु)  डा. यज्ञराज खरेलले बताए । ‘शैय्या अभावको कारणले यसअघि बिरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको थियो,’ मेसु खरेलले भने, ‘अब झ्याल र एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिनुपर्ने समस्या अन्त्य भएको छ ।’ आइसोलेसन वार्डलाई हटाएर आकस्मिक कक्षसँगै गाभेर अस्पतालले शैय्या थप गरेको हो ।

कोशीको ओपिडीमा ८ देखि १ हजार बिरामीले दैनिक आउने गर्दछन् । अहिले निजी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि कोशीमा बिरामी आउनेको सङ्ख्या बढेको छ । आकस्मिक कक्षमा मात्र दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको आकस्मिक कक्षको इन्चार्ज जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादवले बताए ।  आकस्मिक कक्षमा शैय्या थप गरेपछि बिरामीको उपचारमा सहज भएको उनले बताए । थप भएको र पुरानो सबै बेडमा अस्पतालले अक्सिजन पाइपमार्फत आवश्यक पर्ने बिरामीलाई अक्सिजन सप्लाइ गर्ने व्यवस्था मिलाएको छ । अस्पतालले प्रोटेबल भेन्टिलेटर पनि आकस्मिक कक्षमा राख्ने तयारी गरेको छ । ‘आकस्मिक कक्षमा आउने बिरामीलाई भेन्टिलेटरमा पनि राखेर उपचार गर्नुपर्ने हुन्छ,’ इन्चार्ज यादवले भने, ‘त्यस्ता बिरामीलाई ध्यानमा राखेर अस्पतालले प्रोटेबल भेन्टिलेटर पनि राख्नुपर्ने हामीले सुझाव दिएका छौँ । त्यसको पनि तयारी भएको छ ।’
आकस्मिक कक्षमा बिरामीको स्वास्थ्य अवस्था छुटाउन जोन पनि बनाएको छ । तीन समूहमा विभाजन गरेको छ । रेड जोन, यल्लो र ग्रिन जोन बनाएर आकस्मिक कक्षमा बनाएको छ । ‘बिरामीको अवस्था हेरेर जोन छुटाएको हो,’ उनले भने, ‘यसरी जोन छुटाउँदा बिरामीको अवस्था बुझन चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि सहज हुनेछ ।’

शुक्रबार, २० साउन, २०७९, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर