महानगरका २८ हजार बालबालिकालाई दोश्रो मात्रा खोप लगाइदै

विराटनगर । विराटनगर महानगरपालिकाभित्र मंगलबारबाट बालबालिकाहरुलाई कोरोनाविरुद्ध खोपको दोश्रो मात्रा लगाउन सुरु गरिएको छ ।

पेडियाट्रिक फाइजर खोपको दोश्रो मात्रा अभियान साउन १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महानगरपालिकाले जानकारी दिएको छ ।

पहिलो मात्रा खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयहरुमै खोप केन्द्र स्थापना गरेर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

गएको असार १२ गतेदेखि १७ गतेसम्म खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई साउन १७ गतेदेखि २३ गतेसम्म खोप लगाउने गरी सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

पहिलो मात्रा खोप लगाएको २१ दिन पूरा भएका बालबालिकालाई मात्र दोश्रो मात्रा खोप लगाइने महानगरका सहरी स्वास्थ्य महाशाखाका प्रमुख डा. विशालकुमार देवले जानकारी दिए । उनले यसअघि पहिलो खोप लगाएकै विद्यालयबाट बालबालिकाले दोश्रो मात्रा खोप लउन सक्ने र त्यसो गर्दा सहज हुने बताएका छन् ।

बालबालिकाहरुलाई महानगरभित्रका सामुदायिक तथा संस्थागत गरी १२५ भन्दा बढी विद्यालयहरु, वडा कार्यालय, कोसी अस्पताल, महानगरका सहरी स्वास्थ्य केन्द्रलगायतबाट खोप सेवा प्रदान गरिरहेको बताइएको छ । महानगरका खोप निरीक्षक अमरदिप देवले भने ‘महानगरमा जतिपनि विद्यालयहरु छन् ती सबै विद्यालयमा हाम्रा स्वास्थ्यकर्मी पुगेर बालबालिकाहरुलाई खोप लगाइरहेका छन् र त्यसबाहेक वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्रहरुबाट पनि खोप सेवा उपलब्ध गराइएको छ ।’

असार महिनामा ५ देखि ११ वर्ष उमेर समूहका २८ हजार ५८० जना बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा खोप लगाउन छुटेका यो उमेर समूहका बालबालिकाहरुलाई कहिले लगाइन्छ भन्ने विषयमा भने महानगरले स्पष्ट जवाफ दिएको छैन ।

बुधबार, १८ साउन, २०७९, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर