विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङले पमहानगरपालिकाको कार्यालय तोडफोड गर्ने २ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
नगर प्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज गरेको भन्दै मेयर साम्पाङले २ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।
केही दिनदेखि आन्दोलित बनेका बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडितहरूले आइतवार मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरेका थिए । सहकारीबाट ठगीएका पीडितहरूको संघर्ष समितिले नाराबाजी गर्दै उनको कार्यकक्षको झ्याल तोडफोड गरेको थियो ।
मेयर साम्पाङले ‘मलाई सोधेर रकम राखेको’ भनेर जवाफ फर्काएको भन्दै आक्रोशित समूहले कार्यकक्षमा तोडफोड गरेको थियो ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्ध श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी लिइसकिएको बताए । उनले जाहेरीमा उल्लेख भएका नाम भने खुलाउन चाहेनन् । आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।
बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदीप बाँस्तोलाविरुद्ध जाहेरी परेको मेयर निकट स्रोतले जनाएको छ । मेयर साम्पाङले भने आन्दोलनका पछाडि राजनीति जोडिएको बताउने गरेका छन ।

