के राख्ने प्रदेश १ को नाम ?

  विश्वदीप तिगेला

१. लिम्बुवान–किरात–कोशी
२. किरात कोशी
३. किरात सगरमाथा ?

प्रदेश न १ को नाम, संविधानत प्रदेश सांसदहरूको दुई तिहाई ९९० जना मध्ये ६० जनाले राख्ने हो । एमाले ३९ र २१ जना काँग्रेसका सांसदले मात्र नामकरण टुंग्याउन सक्छन् तसर्थ लिम्बुवान र किरातवादीहरू सहमतिमा जानैपर्ने बाध्यता छ ।

प्रदेश १ को नामाकंनमा कोशीलाई स्वीकार्ने कि सहमतिमा कतै पहिचान पनि झुण्डाउने वा थप्ने एउटा विकल्प हुनसक्छ । दोस्रो विकल्प यहि संसदको चालु अधिवेशनमा नामांकरण नगर्ने । तेस्रो विकल्प सहमतिमा जादा लिम्बुवान–किरात–कोशी हुनुपर्छ भनी दाबी र दबाब गर्ने वा किरात मात्रामा तत्कालको लागि चित्त बुझाउने ।

यहाँ राजनीतिक लडाई किरात स्वीकार गर्ने र नगर्नेमा छैन, लडाई त पहिचान नमाग्ने नदीको नाममा नामकरण गर्नुपर्छ भन्ने कोशीवादीहरूसँग छ । कम्तिमा अहिले किरात नामांकन गर्न सके पहिचानको बीउ र निहुँ जोगिन्छ र कालन्तरमा लिम्बुवान पूनसरस्थपना हुन सक्छ तर किरातमा सहमत नहुनु भनेको कोशीमा समर्थन गर्नु हुन जान्छ र यदि कोशी नामांकन हुन गएमा पहिचानको बीउ मासिन्छ अर्थात पहिचानको शृङ्खला नै बन्द हुन्छ । तसर्थ कोशीको तुलनामा कैयौं गुणा असल किरात हुन सक्दछ र सबैको सहमति पनि हुन सक्दछ । उसो त मधेश प्रदेश पहिचानको आधारमा भएको छदैछ भन्नुहोला । तर मधेसको पहिचान लिम्बुवान भनेजसो होइन, मधेस नाम त बढी राजनैतिक आन्दोलनको पहिचान नजिक देखिन्छ नकी लिम्बुवान एतिहासिक पहिचान हो ।

किरात ?

किरात एउटा प्रष्ट लेखिएको र उल्लेख भएको सभ्यता हो । त्यसैले किरात प्रदेश नामकरणको चर्चा भएको हो । केही याक्थुग र लिम्बुहरूमा भ्रम–माङ्सेबुङद्वारा संरक्षित किरात धर्मको नाम छ त्यसैले यो नाम प्रस्ताव गरिएको हो कि लाग्छ अर्थात् धर्मको नाम किरात छ त्यसैले धर्मको नाममा प्रदेशको नाम राखिनुहुन्न भन्ने आवाज छ । तर, सत्य चाहिँ प्रदेशको नाउ राख्ने सवालमा किरात राख्ने प्रस्ताव र सत्येहाङ संस्कारको प्रवद्र्धक माङ्सेबुङसँग कुनै सम्बन्ध र सवाल छैन । हामी थोरैले धर्मको नाम किरात मानेका छौ । तर धेरैले किरात शब्द धर्मको रूपमा चिन्दैनन् । केवल सभ्यताको रूपमा मात्र चिन्दछन् । तसर्थ संसदको गणितको आधार टेक्ने हो भने कि कोशी वा किरात मध्ये एक मात्र छान्ने सुविधा देखिन्छ तर आन्दोलनको शक्तिले लिम्बुवान–किरात–कोशी बनाउन पनि सक्दछ । नामकरणको निम्ति उत्तरदायी संस्था प्रदेश संसद हो भने अन्तिम शक्ति आन्दोलन हो । शसक्त सडक आन्दोलनले राजधानी नै विराटनगरबाट अन्यत्र लैजान पनि सक्दछ, प्रदेश न १ महिनौ ठप्प बनाउन सक्छ, दर्जनौ शहिद हुन सक्छन, सरकार ढाल्न सक्छ तसर्थ प्रदेश सांसदको गणित मात्र अन्तिम र निर्विकल्प चाहि होइन । र, किरातभित्र विभिन्न १० थरी मध्ये एक लिम्बू पनि स्वतः पर्ने भएकोले लिम्बुवान पूर्नस्थापनामा होमिनु भएका योद्धाहरूको निमित्त अनिच्छित दोस्रो विकल्पको रूपमा किरात नामाकरणमा जान सकिन्छ । त्यसैले विरोध किरात भन्दा कोशी शब्दको गर्नु जायज हुन सक्दछ ।

बिहिबार, १२ साउन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर