विराटनगर । औषधिको अनुचित प्रयोग गरि कमाउधन्दामा लागेको गिरोहले अत्यावश्यक औषधीको चरम दुरूपयोग गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको छ ।
औषधीको दुरूपयोग गर्दै लागूऔषध बनाएर प्रदेश १ को पूर्वी शहरमा बिक्री बितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको हो ।
औषधीको दुरूपयोग गरि लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरि चाँडै कमाउने धन्दामा लागेको गिरोह झापा, मोरङ, सुनसरी र उदयपुरमा सक्रिय रहेको प्रहरीको भनाइ छ । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधीलाई मिश्रण गरि लागूऔषध बनाएर युवा पुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल छ ।
डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधी हो । औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख टेकेन्द्र मिश्र यी औषधीको चरम दुरूपयोग बढेको बताउँछन् ।
एक साताअघि मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेबाट औषधीको अनुचित प्रयोग गरेको पाइएपछि रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्वल थापा पक्राउ परेका थिए । उनीहरूलाई औषधी अनुचित प्रयोग गराउन लगाउने मुख्य नाइके भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
यसअघि इटहरी १ बाट पनि औषधीको दुरूपयोग गरेको आरोपमा ५ जनालाई पक्राउ गरि औषधी व्यवस्था विभागले म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । पक्राउ पर्नेमा रविहाङ्ग लिम्बू, दिपककुमार मण्डल, मनिष खड्का, जीवन देव र जनम राई रहेको औषधी व्यवस्थाप विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।
केही दिन अगाडि सुनसरीको धरानमा बसेर प्रतिबन्धित औषधीलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका ५ बगरकोटका २४ वर्षीय अनाम राई पक्राउ परे । विभागले गरेको अनुसन्धानबाट राईले धरानको बगरकोटमा बसेर तीन वटा प्रतिबिन्धित औषधी डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो ।
क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधीसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएको छ ।
औषधी व्यवस्था विभाग विराटनगरले आर्थिक वर्ष २०७८÷०७९ मा औषधीको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग मोरङ अदालतमा दर्ता गरेको सूचना अधिकारी खड्काले बताए । औषधी ऐन २०३५ अनुसार औषधीको अनुचित प्रयोग गरि बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
कडा कानुनी व्यवस्था रहदा पनि कमाउ धन्दामा लागेका गिरोहले एकपछि अर्को गर्दै औषधीको अनुचित प्रयोग गर्न नछोडेको विभागले बताएको छ । ‘प्रतिबन्धित औषधीहरू भारतदेखि भित्र्याएपछि पूर्वी सरहमा भण्डारन गरि लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ कार्यालय प्रमुख टेकेन्द्र मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधीको चरम दुरूपयोग गर्दै गिरोहले दुव्यर्सेनीमा लागेका युवाहरूलाई महंगो मुल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।’ यसरी औषधीलाई लागूऔषध बनाएर बिक्री बितरणमा गर्नेमा औषधी पसल सञ्चालन गर्नेहरु पनि छन् ।
प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको छन् । प्रतिबन्धित औषधीलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री बितरण गर्दै आएका छन् ।
पक्राउ परेका प्रतिवादीहरुले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधी भारतमा खरिद गरेर पूर्वी सहरहरुमा ल्याएर उक्त औषधी लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् ।