विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितहरुका लागि निशुल्क पिसिआर परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जान थालेपछि महानगरले लामो समयदेखि बन्द गरेको परीक्षण कार्यलाई निरन्तरता दिएको हो ।
महानगरले मंगलबार एक सार्वजनिक सूचना प्रकाशित गरेर कोरोना परीक्षण कार्यलाई निरन्तरता दिएको जानकारी गराएको हो । महानगरले हाल परियोजना रहेको अतिथी गृहको भवनमा कोभिड परीक्षण गर्ने पनि सूचनामा उल्लेख छ ।
महानगरका सहरी स्वास्थ्य महाशाखा प्रमुख डा. विशालकुमार देवले जारी गरेको सूचनामा कोभिड १९ (ओमिक्रोन बिए.५) संक्रमणको जोखिम निरन्तर रहेको र महानगर क्षेत्र भित्रसमेत संक्रमितहरुको संख्या थपिदै गइरहेकोले पिसिआर परीक्षण तथा स्वाब संकलन र एन्टिजेन परीक्षण कार्यलाई निरन्तर सञ्चालन गरिएको उल्लेख छ ।
सूचनामा लक्षण देखिएका व्यक्तिहरुले परीक्षण गराउन र अनावश्यक रुपमा घरबाट बाहिर नजान आग्रह गरिएको छ । बाहिर जानुपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्न, सामाजिक दूरी कायम राख्न र मास्कको प्रयोगलाई निरन्तरता दिन पनि महानगरले सूचना मार्फत आग्रह गरेको छ ।