टाट पल्टिएपछि एम्स हस्पिटल बन्द

चिकित्सक र कर्मचारीले पाएनन तलब, चिकित्सकले ३ देखि ७ लाख रूपैयाँसम्म तलब पाउन बाँकी

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालि बन्द भएको छ । आन्तिर द्वन्द्वसँगै आर्थिक रूपमा ‘टाट’ पल्टिएको हस्पिटल बन्द भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले पाउने पैसासमेत नदिई अस्पताल अनिश्चितकालिन बन्द गरिएको हो ।

अस्पतालमा तीन दर्जन स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब पाउन बाँकी रहेको छ । एक जना चिकित्सकले ७ लाख रुपैयाँसम्म पाउनुपर्ने देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारी गरि करिब ३० जना कर्मचारीहरूले २० देखि २५ लाख रूपैयाँभन्दा धेरै पारिश्रमिक पाउनुपर्ने बताइएको छ ।

चरम आर्थिक संकट उत्पन्न भएपछि आन्तरिक द्वन्द्वको चपेटामा परेको अस्पतालले ४ साउनमा सूचना जारी गरि अनिश्चितकालिन रूपमा सेवा बन्द गरेको हो । ‘यस अस्पताल संस्थापकसँग विशाल अग्रवालले गरेको सम्झौता, अचानक विनाजानकारी अग्रवालले यस अस्पतालको विभिन्न सामान, प्रशासनिक र आर्थिक कारोबारको सम्पूर्ण कागजात, कम्प्युटरसहित अस्पताल छोडी भागेकाले निजउपर कानुनी प्रक्रिया अगाडी बढाइएकोले अर्को सूचना प्रकाशित नभएसम्म अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरू स्थगित रहेको जानकारी गराइन्छ’ हस्पिटलले निकालेको सूचनामा उल्लेख छ ।

५० शैय्याको अस्पताल अजय यादवले सञ्चालन गर्दै आएका थिए । अस्पताल सञ्चालन गर्न नसकेपछि यादवले कोशी अस्पतालमा कार्यरत सर्जन डा. विशाल अग्रवाललाई भाडामा ठेक्का दिएका थिए । मासिक ५ लाख र ५ लाख रूपैयाँ नाफा दिनुपर्ने सर्त राखेर २०७८ पुस २२ गते सम्झौता गरेका डा.अग्रवालले ढेड वर्षसम्मको लागि भाडामा लिएकोमा ६ महिना पुग्न नपाउँदै हस्पिटल बन्द भएको हो ।

हस्पिटलका प्रबन्धक रहेका यादवले जवरजस्ती रूपमा गुण्डागर्दी शैलीमा असार २७ गते हस्पिटल बन्द गरिदिएको अग्रवालको आरोप छ । हस्पिटल भाडामा लिँदा युरोलोजी, इण्डोस्कोपी, जनरल वार्ड बनाइदिन्छु भनेको भएपनि सम्झौता अनुसार काम नभएपछि मुनाफा बापत दिने भनेको मासिक ५ लाख रुपैयाँ नदिएको उनको दावी छ । ‘त्यहि विषयलाई लिएर हस्पिटल जस्तो संवेदनशिल ठाउँ अहिले बन्द हुन पुगेको छ’ उनले भने ।

आफूले बीमाबापतको करिब २५ लाख रुपैयाँ पाउनुपर्ने भएकोले सो रकम पाएपछि काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरूको पैसा भुक्तानी गर्ने अग्रवालले बताएका छन् । अस्पतालका निर्देशक यादवले भने सम्झौता अनुसार पैसा नपाएको र डा.अग्रवालको टिमले हस्पिटल चलाउन नसक्ने भनेर हात उठाएपछि केही दिनको लागि मात्र हस्पिटल बन्द भएको दावी गरे ।

‘सम्झौता गरि हस्पिटल जिम्मा लिने अग्रवालले बदमासी गरेका छन् । अस्पतालको नक्कली लेटर प्याटदेखि हस्ताक्षरसमेत नक्कली बनाएर जालासाँझी गरेका छन्’ यादवले भने, ‘हामी कानुन बमोजिम कारवाहीको प्रक्रियामा गएका छौं ।’

शनिबार, ०७ साउन, २०७९, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page