कुपोषणलाई शुन्यमा झार्न पोषण विशेष कार्यक्रम

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले कुपोषणरहित अभियान थालेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विषेश कार्यक्रम शुरु गरेको हो ।

बालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतको विषयमा तथ्यांक राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ । बच्चाको स्वास्थ्य अवस्थाको बारेमा आमालाई आवश्यक तालिम दिएर तथ्यांक राख्न आवश्यक उपकरण वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

आमाले राखेको तथ्यांकको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले जनाएको छ । बालबालिकाको मानसिक स्वास्थ्य बृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए । प्रदेश १ बाट यो गाउँपालिका छनौट भएकाले पाइलोट प्रोग्रामको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेश १ का अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उपाध्यायको भनाइ छ ।

प्रदेश १ मा पहिलो चरणमा छनौट भएका ५ स्थानीय तहमध्ये पौवादुम्मा गाउँपालिका पनि एक हो । पाइलट प्रोगामको रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रम सफल भयो भने यो प्रदेशका १३७ वटै स्थानीय तहमा लागू गर्ने सरकारको नीति छ ।बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेशसरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको बृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

शिशु जन्मपछि उसको तौल, मोटाई लगायत उसको बृद्धि विकासको रेकर्ड राखेर त्यसको आधारमा बच्चाको स्वास्थ्य अवस्था हेरिनेछ । उसको बृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउने गाउँपालिकाको योजना छ ।गाउँपालिकाका बालबालिकालाई प्रत्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई सहज स्वास्थ्य सेवाको लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उनको भनाइ छ ।

शुक्रबार, ३१ असार, २०७९, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर