प्रदेश १ मा तत्कालीन समयमा सामाजिक विकासमन्त्री जीवन घिमिरे हुँदा मन्त्रालयले प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियान सञ्चालन गरेको थियो । मन्त्रालयको त्यो निर्णय स्वागतयोग्य भएकाले आम प्रदेशवासीले सो निर्णयलाई सहयोग गरेका थिए । राम्रो कामको सुरूवात हुन्छ भने त्यसलाई सबै तह र तप्काबाट सहयोग अवश्य प्राप्त हुन्छ । अभिभावकविहीन, परिवारिक विचलन वा आर्थिक संकटका कारण मानिसहरू घरबाट सडकमा आइपुगेका हुन्छन् । सहयोगापेक्षी मानवको संरक्षण गर्नु राज्यको दायित्व नै हो । सोही दायित्वको सुरूवात केही समयअघि सामाजिक विकास मन्त्रालयले गरेको थियो ।
विराटनगर महानगरपालिकाले भर्खरै सडक मानवमुक्त अभियानको थालनी गरेको छ । यो नवनिर्वाचित मेयरसहित सिँगै जनप्रतिनिधिको राम्रो कामको सुरूवात हो । यसलाई सबैले स्वागत गर्नैपर्छ । विभिन्न कारणले सडकमा आइपुगेका र भिख मागेर जीवनचलाई रहेका नागरिकका लागि यो अभियान बरदान नै सावित हुनेछ । तर, त्यसका लागि महानगरपालिकाले आवश्यक गृहकार्य भने पक्कै गरेको होला या गर्न बाँकी नै होला । त्यस सम्बन्धमा समय छ । पक्कै महानगरपालिकाले सही निर्णय गर्ने अपेक्षा राख्न सकिन्छ, अहिलेलाई ।
प्रदेश १ को राजधानी विराटनगरमा खासगरी सार्वजनिक स्थलमा भिख मागेर जीवन चलाउनेहरूको सङ्ख्या ठूलो छ । महानगरपालिकासँग सडक सहयोगापेक्षीहरूको यनिक विवरण त पक्कै छैन होला । तर, अब यो अभियानपछि सडकमा कष्टकर जीवन विताइरहेकाहरूको यकिन विवरण महानगरपालिकासँग हुनेछ । आगामी दिनमा सडक सहयोगापेक्षी नागरिक लक्षित नीति तथा कार्यक्रमको खाका कोर्न यो अभियानले साथ दिनेछ ।
सार्वजनिक स्थलमा मागेर जीवन बिताउनु कोही कसैको रहर होइन । बाध्यताले पिल्सिएका र पिरोलिएकाहरूका लागि मेयर नागेश कोइरालाले लिएको निर्णयले अभिभावकको भूमिका निर्वाह गर्नेछ । तर, सबैभन्दा महत्वपूर्ण कुरा निर्णयको सहि कार्यान्वयनमा हुनेछ । लोकप्रियताका लागि क्षणिक निर्णय गरेर एक–दुई जना सडक मानिसलाई उद्धार गर्दैमा मात्र अभियान सार्थक हुन्न । केही समयका लागि मात्र सडक मानवमुक्त अभियानले महानगरपालिकाले सञ्चालन गरेको हो भने त्यसले मेयरको साखमाथि नै प्रश्नचिन्ह खडा गर्ने निश्चित छ ।
पारिवारिक विचलन वा अन्य कुनै अप्रिय कारणले सडकमा आइपुगेर कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवलाई उद्धार गरी महानगरपालिकाले उचित संरक्षण गरेको खण्डमा जनप्रतिनिधि हुनुको साँचो अर्थ सावित हुनेछ । यदि सस्तो लोकप्रियताका लागि मात्र सडक मानवमुक्त अभियान महानगरले सञ्चालन गरेको हो भने त्यसले हाल कायम विश्वास गुम्ने निश्चित छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।