विराटनगर ।संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका भवानी खापुङ पूर्व शिक्षक हुन् । ८ वर्षसम्म तेह्रथुमका तीनवटा विद्यालयमा उनले पढाए । श्रीजुङ मावि श्रीजुङ, सिदेश्वर निमावि मोराहाङ, सम्दु मावि सम्दुमा उनले ८ वर्ष शिक्षण पेसा गरेका थिए । अग्रेजी विषय पढाउने उनी स्थायी शिक्षक थिए । शिक्षक हुँदा नै २०३६ र ०३७ सालदेखि राजनीतिमा सक्रिय थिए उनी । शिक्षकबाट राजीनामा दिएर उनी २०४६ साल देखि पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।
२०५४ सालमा तत्कालीन मोराहाङ गाविसको अध्यक्ष भए । हाल सो गाविस मेन्छायायेम गाउँपालिका भएको छ । उनी १५ वर्षसम्म नेकपा एमालेको पार्टी सचिव भएका थिए । एमाले अध्यक्ष केपी ओलीको जन्मथलोसमेत रहेको तेह्रथुममा उनी सचिव भएको समयमा ओली पक्षका नेता कमजोर थिए । उनले तिन पटक संघीय सांसदको टिकट पाउँदा दुई पटक भने विजयी बने । २०६४ सालको चुनावमा काँग्रेसका तुलसी सुब्बासँग पराजय भएका खापुङ २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभाको चुनावमा भने विजयी बने । एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य छन् । तीन पटकसम्म खापुङलाई टिकट दिएको भन्दै एमालेका नेता विजय सुब्बाले पार्टीनै छाडेका थिए । एमाले हुँदा सुब्बाभन्दा उनी शक्तिशाली मानिन्थे । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ्ग गृह जिल्ला तेह्रथुम आउँदा तेह्रथुमवासीहरूले उनलाई भव्य स्वागत गरेका थिए । एमालेबाट नेकपा एकीकृत समाजवादीमा हाम्फालेका राज्यमन्त्री खापुङ्गलाई स्थानीयले इमान्दार नेताको रुपमा लिने गरेका छन् । पद, पैसा भनेपछि हुरुक्क नहुने पिपलपाते स्वभाव नभएकाले पनि खापुङ्गलाई एमालेकै नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
सांसदको जिम्मेवारीमा रहेका बखत घर पुग्दा उनी खेतबारीको काममा सँधैझैं खट्ने गरेका छन् । ‘सांसदले पनि खानैपर्छ । माननीय हँु भनेर पलँेटी कसेर बस्दा अन्न फल्दैन,’ उनले भने ‘आफ्नो काम गर्दा इज्जत जाँदैन ।’
उनी तेह्रथुमका अगुवा कृषकको रूपमा पनि परिचित छन् । खापुङले जिल्लामै सबै भन्दा पहिला लेयर्स जातको कुखुरा पालेका थिए । अकबरे खेतीदेखि जडीबुटीको खेतीसम्म उनले गरिरहेका छन् । मेन्छायायेम जडीबुटी केन्द्र नामक फर्म नै खोलेर विभिन्न जातका जडीबुटीका बिरुवा नर्सरी गरेका छन् । ‘काका राजनीतिमा सक्रिय भए पनि सबै योजना उहाँले नै बनाउनुहुन्छ भतिज शिव खापुङ्गले भने अहिले पनि फर्ममा लौठ सल्लाका १५ देखि २० हजार बिरुवा छन् । सतुवा जातका बिरुवा पनि त्यतिनै संख्यामा छन् । आठ–नौ रोपनी जग्गामा उनले कफी खेती पनि गरेका छन् । केरा खेती तथा रेसमी किम्बुको नर्सरी समेत उनको फर्ममा रहेको छ । तेह्रथुमबाट मन्त्री हुनेमा खापुङ्ग दोस्रा हुन् । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग पंचायतकालमा १६ दिन मन्त्री बनेका थिए । भवानी र परशुराम दाजुभाइ हुन् ।
श्रीमती नवरती इङनाम भने शिक्षक हुन् । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरी अष्ट्रेलियामा छिन् भने कान्छी छोरी मास्टर डिग्री पढिरहेकी छिन् । छोरा भने ११ मा पढ्दै छन् ।