विराटनगर । भर्खरै एआइजीमा बढुवा भएका प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीलाई प्रदेश १ सरकारले विदाई गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिसीलाई मङ्गलबार प्रदेश १ प्रहरी कार्यालयमै पुगेर विदाई गरेका हुन् । प्रदेशका प्रमुख सचिव डाक्टर रामप्रसाद घिमिरे र सहयोगी वसिम आलमसहित राई बिसीलाई बिदाई गर्न प्रहरी कार्यालय पुगेका थिए । प्रदेश १ का प्रहरी प्रमुख बिसीलाई सोमबार नेपाल सरकारले एआइजीमा बढुवा गरेको हो ।
राईले बिसीलाई मायाको चिनो स्वरुप चैनपुरे करुवा प्रदान गरेका थिए । विराटनगरबाट सरुवा भएर जाने धेरै प्रहरी अधिकारीहरुलाई मुख्यमन्त्री राईले विदाई गर्ने गरेका छन् ।
यता प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पनि बिसीलाई विदाई गरेका छन् । कार्कीले भने बिसीलाई मन्त्रालयमै बोलाएर विदाई गरेका हुन् । सो अवसरमा प्रदेशसभाका सचिव गोपाल पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतका अधिकारीले खादा लगाएर बिसीलाई विदाई गरेका थिए ।