विराटनगर । यस वर्षको मनसुन एक साताअघि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन प्रदेश १ मा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको समय सुरु हुँदा बाढी पहिरो जाने गर्छ । तर, सरकार भने प्राकृतिक प्रकोपको पूर्व तयारीमा जुटेको छैन ।
चालु आवको वैशाखसम्ममा प्रदेश १ का १४ जिल्लाका २१ सय २३ स्थानमा गएको बाढी पहिरोमा परि कारण ११० जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।
विपद्मा ३३ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ५५ जनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार २०७६/०७७ मा ३७ जनाले ज्यान गुमाएका थिए । भने २०७५/७६ मा ३४ जनाले ज्यान गुमाएका थिए ।
प्रत्येक वर्ष दैवि प्रकोपका घटना बढ्दै गएपनि तिनै तहका सरकारले भने पूर्व तयारीका कुनै पनि कार्यक्रम गर्न सकेका छैन । सरकारले सम्भावित जोखिम क्षेत्रको नक्साक्न गरे बाढी पहिरो डुबानबाट हुने धनजनको क्षतिमा कमी आउने स्काउट प्रदेश १ का संयोजक रवि खनालले बताए ।
सरकारले पूर्वतयारी स्वरूप कुइक रेस्पोन्स टिमको बनाउने तथा उद्धार गर्न चाहिने ट्युब डोरी बोट जस्ता सामाग्री तयारी अवस्थामा राख्नुपर्ने उनी बताँउछन् । नेपालमा तिनै तहका सरकार विपद् आएपछि मात्रै उद्धारका सामाग्री खोज्दै हिँड्छन ।
बाढी पहिरो पछि विस्थापित बनेका नागरिकमा झाडा पखाला जस्ता समस्या हुने गरेकाले औषधि पनि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । यस्तै प्रहरीले पनि विपद् तथा उद्धारमा खट्दा चाहिने सामाग्रीहरू समेत अभाव रहेको बताएको छ । उद्धार तथा राहतका लागि खट्दा चाहिने सामाग्री नभएपनि जोखिम मोलेर काम गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीन राईले बताए ।
उद्धार तथा राहतका लागि तालिम प्राप्त प्रदेश १ मा १२५ जना प्रहरी रहेका छन् । झापाको चन्द्रगढी गुल्ममा उनीहरू बस्छन् । उनीहरू राहत उद्धारका लागि तत्काल पुग्न सक्दैनन् । स्रोत साधन अभाव भएका कारण तत्काल राहतमा पुग्न समस्या हुने गरेको प्रहरी उपरीक्षक राईले बताए । ‘पूर्वतयारीमा खट्ने त सम्भावनै छैन’ प्रहरी उपरीक्षक राईले भने, ‘तत्काललै राहत तथा उद्धारका लागि पुग्नसमेत हामीलाई समस्या छ ।’
प्रदेशका विपद् व्यवस्थापन हेर्ने विभागीय मन्त्री भने पूर्व तयारीमा भन्दा पनि उद्घाटन र विभिन्न देशको भ्रमणमा व्यस्त छन् । आन्तरिक मामिला मन्त्री केदार कार्की मन्त्री भएपछि जापान, बेलायत र भारत गइसकेका छन् । यद्यपी विपद् व्यवस्थापनका नीति तथा रणनीति तयार भइरहेको कार्की बताउँछन् ।
‘नेपाली सेना र प्रहरीलाई उद्धार सामाग्रीहरू दिएका छौ’ उनी भन्छन्, ‘विपद्भन्दा अगाडि र पछाडि त्यसको उद्धार कसरी गर्ने भनेर अगाडि बढ्ने भनेर सररकारले पनि तयारी गरिरहेको छ ।’ विपद्मा परेकाको उद्धार गर्नका लागि हेलिकप्टर किन्न खोज्दा मिडियाहरूले मन्त्री चढ्न आटेको भन्दै विरोध गरेकोमा उनको असन्तुष्टि छ ।
‘लेख्न र बोल्न जान्दछु भन्दैमा जे पायो त्यही लेख्नु हुदैंन नि’ उनले भने, ‘विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परेकालाई उद्धार गर्नका लागि पनि ३ घण्टासम्म हेलिकप्टर कुर्नु परेको र हेलिकप्टर नहुँदा पहाडी जिल्लामा आगलागी पनि नियन्त्रण गर्न समस्या भईरहेको छ ।’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।