काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन ।
हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको उनको शुभकामना सन्देशमा भनिएको छ ।
उनले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने धारणा राखेका छन्।
मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्तिंले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बिचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको उनले बताएका छन्।

