विराटनगर । विराटनगर महानगरपालिका ५ गणेश मार्गमा सडकको झारसमेत नउखेली सडक ढलानको तयारी गरेपछि स्थानीयले विरोध गरेका छन् । झारमाथि सडक ढलान गर्न लागेपछि स्थानीयले विरोध जनाएकोले काम रोकिएको छ ।
स्थानीयले विरोध गरेपछि सडक ढलान गर्न बिछ्याएको रड हटाएर झार निकाल्न सुरु गरिएको छ । झारमाथिबाट रड बिछ्याएर ढलान सुरू गर्न लागेपछि विराटनगर ५ की उषा आचार्य खड्काले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेकी थिइन् । भिडियो भाइरल भएको थियो ।
उषाले सामाजिक संजालमा झारमाथिबाट छड बिछ्याएर ढलानको तयारी गरेको भडियो हालेपछि स्थानीय जनप्रतिनिधि र प्राबिधिकको टोली मंगलबार दिउँसो पुगेको थियो । विराटनगर ५ का वडाअध्यक्ष सन्तोष न्यौपानेले तत्काल झार हटाएर ढलान गर्न निर्देशन दिएका थिए ।
‘गणेश मार्गमा निर्माण हुन लागेको सडक ढलानको विषयमा गुनासो आएपछि पुग्दा झारसहित रड बिछ्याएर ढलानको तयारी गर्न लागेका रहेछन्,’ वडाअध्यक्ष न्यौपानेले भने, ‘सडकमा उम्रिएको झार हटाएर गुणस्तरीय ढलान गर्न निर्देशन दिएको छु ।’ सडकको झार हटाएर गुणस्तरीय सडक ढलान नगरे भुक्तानी रोक्का गरिदिने उनले चेतावनी दिएका छन् ।
वडाभित्र भइरहेको विकास निर्माणको काममा खबरदारी गर्न पनि न्यौपानेले वडाबासीहरूलाई आग्रह गरेका छन् । विराटनगर महानगपालिकाको साइट हेर्ने सवइन्जिनियर अजयकुमार गुप्ताले झारमाथिबाट रड बिछ्याएर ढलान गर्दा टिकाउ नहुने भएकोले त्यो काम रोक्न भनेको बताए ।
पहिले झार फालेर क्लिन बनाएपछि रड बिछ्याएर ढलान गर्नुपर्ने उनको भनाइ छ । सडक ढलानअघि महानगरपालिकाको प्राविधिकले अनुगमन गरेपछि मात्र काम अगाडि बढाउन निर्देशन दिएको उनले बताए ।
उपभोक्ता समितिमार्फत ३ लाख ५० हजार रुपैयाँ लागतमा गणेश मार्गमा ५० मिटर सडक ढलान हुन लागेको हो । पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलाना गर्नको लागि पारिजात गणेश शान्तिनगर निर्माण उपभोक्ता समिति गठन भएको छ ।
उपभोक्ता समितिले छुट्टाछुट्टै तीन योजनामा १४ लाख ९५ हजार रुपैयाँको काम गरिरहेको छ । पारिजत मार्गको ३९ मिटर रिटेनिङ्ग वाल र १७५ मिटर नाला निर्माणको ५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ । यसैगरि शान्तिनगर टोलको ९५ मिटरको डे«न निर्माणमा ५ लाख ७५ हजार र गणेश मार्गको सडक ढलान ३ लाख ५९ हजार छ ।
उपभोक्ता समितिले सडकको ढलानको जिम्मा नुर महमद ठेक्केदारलाई दिएको छ । ठेकेदारको लापरबाहीले झारमाथिबाट रड लगाएर ढलान गर्न खोजेको पाइएको छ । ठेकेदार महमदले काम गर्ने केटाहरूको कमजोरीको कारण झारमाथिबाट रड लगाएको स्वीकार गरेका छन् । ‘रड बिछ्याएपछि त्यसलाई हटाएर सडकको पुरै झार हटाएर ढलान गर्नेछौं,’ उनले भने ।
पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेश मार्ग सडक ढलान २०७९ वैशाख ९ गते सम्पन्न गर्न २०७८ चैत १० गते सम्झौता भएको थियो । तोकिएको सम्झौता मितिमा निर्माण कार्य सम्पन्न नभएपछि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म म्याद थप गरिएको छ ।
पारिजात गणेश शान्तिनगर निर्माण उपभोक्ता समितिको अध्यक्षमा अरुण पासवान र सचिब शम्भुप्रसाद पाल छन् । उपभोक्ता समितिका सदस्य भरत गिरीले झार हटाएर गुणस्तरीय सडक ढलान गर्न लागिपरेको बताए ।
कसैको फोटो भाईरल भएर रवबरदारी गरेर मात्र सहि काम हुने हो भने ति नव निर्वाचित ५ जनप्रतिनिंहरूको काम चाहि के नी
अनुगमन त गर्नु पर्यो नी
जनताहरूले भनुन नि उ फलानो वडा प्रतिनिधिज्यूले गर्दा पो राम्रो काम हुने भयो त ।
आफु जागरुक हुनु पार्यो वड अध्यक्ष जिउ । कहा कहा के के भको छ भनेर ।