विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आदर्श टोलका ५० वर्षीय ‘मालदाइ’ भनिने तुलसी श्रेष्ठको हत्या गरेर फालेको प्रहरीले निष्कर्ष निकालेको छ । भाइको कृषि फर्म जान्छु भनेर हिँडेका मालदाइको आज बिहान शव फेला परेको थियो ।
शनिवार राती साढे १० बजे घरदेखि करिब डेढ किलोमिटर उत्तर कटहरी गाउँपालिका २ जमटोकी टोलको थानमार्गमा रहेको भाइ चित्र कुमार श्रेष्ठको कृषि फर्ममा जान्छु भनेर तुलसी हिँडेका थिए । मालदाइको शव भाइ चित्रकुमारको कृषि फर्मदेखि करिब ५० मिटर दक्षिणमा बाझो खेतबारीमा शव भेटिएको हो ।
श्रेष्ठको आँखामाथि निधार र हातमा धारिलो हतियारले प्रहार गरेको चोटपटक लागेकोले हत्या गरेको प्रहरीले जनाएको छ । विभिन्न भागहरूमा चोटपटक लागेको र घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्याँकेको जस्तो देखिने प्रहरीको भनाइ छ ।
‘घटनाको प्रकृति हेर्दा हत्या गरेर फालेको देखिएको छ,’ घटनास्थलमा अनुसन्धान गर्न पुगेका मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘तालिमप्राप्त कुकुरसमेत ल्याएर हामीले सबै कोणबाट अनुसन्धान सुरु गरेका छौँ ।’ गहन अनुसन्धान गरेकोले थप विषय चाँडै खुल्ने उनले सुनाए ।
अविवाहित मालदाइ भाइसँग कटहरी २ आदर्श टोलमा बस्दै आएका थिए । उनीहरू ६ जना दाजुभाइ हुन् । मृतक तुलसी माइला हुन् । भाइ चित्रकुमारको श्रेष्ठको संघिया खोला पारी कोल्ड सेन्टर रहेको छ । उनले बिहीबार मात्र कटहरी २ मा युवराज श्रेष्ठको कृषि फर्म ४ लाख रुपैयाँमा लिएका थिए ।
कृषि फर्म लिने भएपछि उनले १० हजार रुपैयाँ बैना पनि दिइसकेका थिए । पसल बन्द गरेपछि खाना खाएर कृषि फर्म तिर शुक्रवारदेखि जान थालेका थिए । ‘शनिवार पसल बन्द गरेपछि खाना खाएर साढे ८ बजे राती तिर कृषि फर्ममा आएका थिए,’ चित्रकुमारले भने, ‘तुलसी मालदाइलाई पसलमा देखेपछि घर जानु भनेर आफू भान्जालाई साथी लिएर राती फर्म तिर आए । दिनभरि कामले थकित भएकोले फर्म आउनु बित्तिकै सुतिहाले । भोलि पल्ट आइतबार बिहान फर्मदेखि मुनी मान्छेको भिडिदेखेपछि हेर्दा दाजुको शव देखेपछि भावहीन भए ।’ सबैसँग मिल्ने, भनेको काम गरिदिने सोझा दाजुको हत्या संलग्नलाई कडा कारबाहीको लागि उनले माग राखेका छन् ।
मालदाइले राती साढे १० बजे स्थानीयलाई भाइको कृषि फर्म जान्छु भनेर कटहरी २ को आदर्श टोलदेखि भनेर हिँडेको प्रहरीले जनाएको छ । भाइ चित्रकुमारको कृषि फर्म नजिक कटहरी १ का रमेश माझीको कृषि फर्म रहेको छ । त्यही कृषि फर्म रहेको फरकलाल माझीको बाझो जग्गामा तुलसीको शव भेटिएको हो । फरकलाले रमेशलाई जग्गा लिजमा दिएका हुन् । रमेशले दुई वर्षदेखि जग्गा लिजमा लिएर कृषि फर्म चलाउँदै आएका छन् । शव भेटिएको ५० मिटर उत्तर रमेशको कृषि फर्म नजिक रगत लतपतिएको बाँसको मुङ्ग्रो पनि प्रहरीले फेला पारेको छ ।
घटनास्थल नजिक शव भेटिएको र रगत लतपतिएको मुङ्ग्रो पनि माझीको कृषि फर्म अगाडी भेटेपछि प्रहरीले अनुसन्धानको लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको कृषि फर्ममा कामगर्नेहरु रहेका छन् । ‘घटनाको अनुसन्धान र सोधपुछको लागि लगिएको हो,’ अनुसन्धान खटिएका मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु गरेको छ ।’ थप विषय अनुसन्धानपछि मात्र खुल्ने उनले बताए । प्रहरीले शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएको छ ।