विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् ।
१५ औं गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै मुख्यमन्त्री राईले गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको धारणा व्यक्त गरेका छन् ।
‘लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ,’ उनले भनेका छन् ।
मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नेपाली जनताले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेको विचार व्यक्त गरेका छन् । ‘भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ, नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन्,’ उनले भनेका छन्, ‘यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थीरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन्, अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमतप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
उनले निर्वाचनमा विजयी हुने सबै जनप्रतिनिधिहरूलाई बधाई दिदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । ‘स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पु¥याएको छ । म भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।