धरान । किरात समुदायको प्रमुख चाड साकेला उभौलीको समापनमा सुनसरीको धरानमा शनिबार जनसागर उर्लिएको छ ।
ढोल झ्याम्टासहित उपस्थित हजारौं किराँत सर्वसाधारणले साकेला सिली नाचेर साकेला उभौलीलाई बिदा गरेका छन ।
धरान ११ मा रहेको साकेला पार्कमा भेला भएका सर्वसाधारणले साकेला उभौलीको बिदाइमा साकेला सिली नाचेर खुसी साटेका छन् । वैशाख पुर्णिामाबाट गर्मी सुरु भएपछि माछा, चराचुरुङ्गी उभो लाग्ने भएकाले प्रकृतिपुजक किरात समुदायले साकेला उभौली मनाउन सुरु गर्छन् । त्यसपछि एक साता, दुई सातासम्म साकेला थानमा पुजा गर्ने, साकेला सिली नाच्ने, भाकल भए पुजा गर्ने र कुल धामीले पित्री पुजा गरेर साकेला उभौली बिदाइ गर्ने चलन छ ।
मङ्सिरे पुर्णिामामा साकेला उधौली पर्व पनि किरात समुदायले उत्तिकै उल्लासपुर्वक मनाउने गरेका छन । चिसो सुरु भएर हिमालमा हिउँ पर्न थालेपछि माछा, चराचुरुङ्गी उधो झर्ने भएकाले त्यो अवधीमा किरात समुदायले साकेला उधौली मनाउने गर्छन् ।
धरानको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सभामुख प्रदीप भण्डारी , सामाजिक विकास मन्त्री राजन राई, नवनिर्वाचित मेयर हर्क राईलगायतले सम्बोधन गर्दै साकेला उभौलीको शुभकामना दिएका थिए ।