विराटनगर । प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री विजयकुमार विश्वासको पहलमा ग्रामथान गाउँपालिका ६ नेताचोकमा रहेको पब्लिक क्याम्पसमा दुई तले नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत प्रदेश सांसद विश्वासले पब्लिक क्याम्पसको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । सोही रकमबाट क्याम्पसको नयाँ भवन निर्माण गरिएको हो ।
पब्लिक क्याम्पस स्थापना भएको २० औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित समारोहका बीच पूर्वमन्त्री विश्वासले भवन उद्घाटन गरे । उनले ग्रामीण क्षेत्रमा सञ्चालित उच्च शिक्षा अध्ययन गर्ने क्याम्पसको विकास र स्थायित्वका लागि निरन्तर सहयोग र पहल जारी राख्ने बताए । सांसद विश्वासले क्याम्पसको पुरानो भवन मर्मत संभार गर्न चालु वर्षमा पनि १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएका छन् । त्यसबाट क्याम्पस भवनको मर्मत र रंगरोगन गरिएको बताइएको छ ।
सांसद विश्वासले आगामी आर्थिक वर्षमा क्याम्पसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारबाट एक करोड रुपैयाँ भन्दा बढी बजेट ल्याउन आफू प्रयत्नशील रहेको जानकारी दिए । ‘चिल्लो बाटोमात्र बनाएर विकास हुँदैन, विकास भनेको भौतिक पूर्वाधार बनाउनु मात्र होइन,’ सांसद विश्वासले भने ‘विकासका लागि पहिलो कुरा शिक्षा हो, हामीले शिक्षाको विकासका लागि शिक्षालयहरु तयार पार्नुपर्छ, शिक्षाको विकास भएमा भौतिक पूर्वाधारको विकास सहज हुन्छ ।’
विद्यालय तहपछि विद्यार्थीहरुले पढाई छोड्ने क्रम बढेपछि शिक्षासेवी रविदानन्द चौधरीको सहयोग र योगदानमा २० वर्षअघि नेताचोकमा पब्लिक क्याम्पस स्थापना भएको थियो । ९० प्रतिशत थारु समुदायको बसोबास क्षेत्रमा संचालित क्याम्पसलाई उत्कृष्ठ र नमूना शिक्षालयको रुपमा विकास गर्न स्थानीय तहका जनप्रतिनिधिहरुले समेत तत्पर रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र उपाध्यक्ष गुणावतीदेवी थारुले पब्लिक क्याम्पसको विकास र स्तरोन्नतिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरु दुवै जना पब्लिक माध्यामिक विद्यालयका उत्पादन हुन् ।
पब्लिक क्याम्पसका प्रमुख झमकबहादुर दाहालले क्याम्पसको आय स्रोत अध्ययनरत विद्यार्थीले तिर्ने शुल्कमात्र रहेको भन्दै क्याम्पसमा विद्यार्थीले सहुलीयत शुल्कमा अध्ययन गरिरहेको बताए । उनले गाउँका मानिसलाई उच्च शिक्षा अध्ययन गर्ने अधिकार छ कि छैन भन्ने प्रश्न गर्दै स्नातकोत्तर तह अध्ययनको अनुमति पाउन माग गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पब्लिक क्याम्पसमा एमबीएस र एमएड कार्यक्रमसहित स्नातकोत्तर तहको अध्ययन आरम्भ गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । क्याम्पसका प्राध्यापक तथा सरोकारवालाहरुले केही वर्षयता निरन्तर त्यसका लागि पूर्वाञ्चल विश्वविद्यालयसँग लबिइङ पनि गर्दै आएका छन् । तर विश्वविद्यालयले सरकारी निर्णयका कारण देखाउँदै अनुमति दिएको छैन । स्नातक अध्ययनपछि स्नातकोत्तर गर्न बाहिर जानु पर्ने भएकोले धेरै छात्राह रुले पढाई छोड्ने गरेको भन्दै गाउँमै अध्ययनको अवसर सिर्जना गर्नुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा डा.तिलकराम सरदार, अध्यक्षपक नरेन्द्र बस्नेत विद्यार्थी शिवानी विश्वास लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा बिहीबार क्याम्पसका विद्यार्थीहरुले नृत्य तथा सांस्कृति प्रस्तुति गरेका थिए । त्यस क्रममा विद्यालयका उत्कृष्ट २४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित ग्रामथान गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु, क्याम्पसका अध्यापकहरु, अन्य विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो ।