विराटनगर । विराटनगर महानगरपालिका ८ मधुमाराकी २७ वर्षीय सरीताकुमारी महतोलाई मिटरव्याजीले ज्यान मार्ने धम्की दिएका छन् । करिब १५ महिनाअगाडि अर्थात् २०७७ साल फागुन २१ गते रुशी एल खानम श्रेष्ठसँग ७ लाख रुपैयाँ ऋण लिएकी उनले ४० लाख रुपैयाँ तिरिसकेपछि श्रेष्ठले थप रकम माग्दै धम्की दिएका हुन् ।
श्रेष्ठले महतोलाई गत फागुन ८ गते वडा कार्यालयमा विराटनगर १ का तत्कालिन वडाध्यक्ष निश्चल अर्यालयकै रोहबरमा ३० लाखको कपाली कागज गराएका थिए । ‘मैले बैंकमार्फत मात्रै १६ लाख तिरेको छु । इसेवा लगायतबाट तिरेको हिसाव गर्दा २२ लाख माथिको त मसँग प्रमाण नै छ,’ उनले भनिन्, ‘अरु क्यास दिएको छु, तर पनि थप रकम मागिरहेको छु ।’
जग्गा पास गर्नुपर्ने समयमा १ लाख बराबरको ५ हजार ब्याज भनेर सहमतिमै ऋण लिएकी उनले तीन महिना अगाडिसम्ममा ४० देखि ४२ लाख तिरिसकेको बताए । आफ्नो जग्गा धितो राखेर सिटिजन्स बैंकबाट ऋण लिएको ७ लाख ४० हजार रुपैयाँ पनि उनैले लगेको बताइएको छ ।
महतो मात्रै होइन, सोही ठाउँकी स्मीता कामतले ३ महिना अगाडि श्रेष्ठसँग ५० हजार ऋण सापटी मागेकी थिएन् । आफन्तको विवाहमा जानुपर्ने भएकोले १५ दिनका लागि पैसा मागेकी उनले अहिलेसम्ममा १ लाख रुपैयाँ तिरिसकेको बताइन् । तर, अझै ब्याज भन्दै माग्न आउने गरेको र धाकधम्की दिने गरेको उनको भनाइ छ ।
मैले ५० हजार १५ दिनको लागि मागेकोमा पैसा तिर्न डेढ महिना ढिलो हुँदा ब्याज मात्रै ४५ हजार मागेको कामतले बताएकी छन् । नतिरे घर भाँडिदिने भन्दै मलाई धम्की आएको उनले बताइन् । ‘५० हजारको ब्याज डेढ महिनाको ४५ हजार कसरी भयो ? पैसा बोटमा त फल्दैन होला । म कहाँबाट दिनु ? अझै पनि मागेको माग्यै छन्’ उनले भनिन् ।
विराटनगर ८ का गरिवहरुलाई ऋण सापटी रकम दिँदै मिटर ब्याजमा रकम असुल्दै गर्ने श्रेष्ठको धन्दा नै रहेको बताइएको छ । विराटनगर ८ कै ३६ वर्षीय अन्जुना कोइराला पनि श्रेष्ठको मिटरब्याजको शिकार बनेकी छिन् । उनले पनि गत पुस ९ गते श्रेष्ठसँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले पटक–पटक गरेर ५ लाख ६० हजार रुपैयाँ पैसा तिरिसकेको बताइन् ।
‘मैले पटकपटक गरी ३ लाख र गत माघ १२ गते विनोद साहसँग जग्गा धितो राखी २ लाख ६० हजार रुपैयाँ दिइसकेको छु,’ उनले भनिन्, ‘अझै पनि रुसी खानले मेरो त चक्रोमिटर ब्याज हो भन्दैपैसा माग्ने गरेकी छिन ।’ कोइरालालाई पनि धाक धम्की दिँदै उनले ६ लाखको कपाली कागज बनाएर मुद्दा हाल्छु भन्दै धम्क्याउने गरेकी छिन् ।
‘म एकल महिला भएको कारण विभिन्न किसिमको डरत्रास धाक धम्की दिई रहेकी छिन्, साथै हामी जस्ता अन्य धेरै महिलाहरुलाई धाक धम्की दिई मिटर ब्याजको कार्य गरिरहेकी छिन्,’ कोइरालाले भनिन्, ‘मलाई काट्ने मार्ने धम्की पनि दिने गरेकी छिन्, चारै जनालाई कहाँ लगेर छिनाउने हो मैले योजना बनाइसकें भन्दै हामीलाई धम्की दिने गरिएको छ ।’
मिटरब्याजबाट पीडित बनेका उनीहरुले गत चैत महिनामा जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । सरीता महतोले दिएको निवेदनमा रुशी एल खान श्रेष्ठले आफूलाई अपहरण गरी ३० लाख रुपैयाँ ऋण लिएको कागजमा जबर्जस्ती सही छाप गर्न लगाएको उल्लेख छ ।
पैसा नतिरे ज्यान मार्ने धम्की
मिटरब्याजीको आरोप लागेकी श्रेष्ठले भने फोनमार्फत सावाँ र ब्याज रकम नतिरे ज्यान मार्ने धम्की दिएकी छिन् । केही महिना अगाडि अन्जुना कोइरालालाई फोन गरेर श्रेष्ठले साँवा ब्याज फिर्ता नगरे ‘एउटा कोठाभित्र राखेर छिनाएर जिल्ला जान्छु’ भनेकी छिन् ।
उनले दिएको धम्की यस्तो छ
तपाईलाई मात्रै होइन म चारै जनालाई एउटा कोठाभित्र राखेर चारै जनालाई छिनाएर म जिल्ला जान्छु । मैले बकाइदा भनिरहेको छु । मैले चारै जनालाई यही कुरा भनिरहेको छु । म ब्याज मात्रै तिरेर अब म मान्दिन । मलाई सावा पनि चाहियो ब्याज पनि चाहियो । एक हप्ताको टाइम दिएको छु मैले । कहाँ गएर माग्नुहुन्छ मलाई मतलब छैन । अरुसँग पैसा लिएर यहाँ क्लियर गर्नु । तपाईको आमाको पैसा आएपछि यहाँ क्लियर गर्नु । एक हप्ताभन्दा अब पर्खिदिँन । म अब चारै जनालाई कहाँ लगेर छिनाउने हो, म अब एकदम मैले प्लानिङ गरिसकेको छु । तपाईहरु रेकर्ड गरेको जिल्लामा सुनाउनु कि जे गर्नु । मलाई मतलब छैन । मलाई त्योसँग मललब छैन । मलाई २० हजार र ३० हजार दिएर हुँदैन । मलाई १ लाखले तपाईको ब्याज क्लियर पनि हुँदैन । सबै एक नम्बरको फ्लड छ । मलाई राम्ररी थाहा छ । मैले अहिलेसम्म कसैको एक रुपैयाँ खाएको पनि छैन र कसैलाई खान पनि दिन्न ।