कोसी अस्पतालमा दुई विकास समिति, अन्यौलमा कर्मचारी

विराटनगर । राजनीतिक नियुक्ति विवादका कारण कोसी अस्पताल विकास समिति केही समयदेखि निष्कृय बनेको छ । दुई वटा सरकारले नियुक्त गरेको बेग्लाबेग्लै विकास समितिबीच कुन चाँही आधिकारिक र वैधानिक हो भन्ने अन्यौल सिर्जना भएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक नीतिगत निर्णय र सहजीकरण गर्ने जिम्मेवारी रहेको विकास समिति निष्कृय हुँदा दैनिक काम काज प्रभावित भइरहेको छ । विकास समिति अन्तरगतका कर्मचारीहरुलाई तलब तथा सुविधा उपलब्ध गराउने, सेवा शुल्क पुनरावलोकन गर्ने, थप गर्ने, भौतिक संरचना निर्माण आदि कार्यको अनुगमन गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने जस्ता काममा विकास समिति सक्रिय हुनुपर्नेमा केही महिना यता समितिले कुनै काम गर्न सकेको छैन ।

अस्पताल विकास समिति एउटा मात्र हुने व्यवस्था भएपनि कोसी अस्पतालमा दुई वटा विकास समिति अस्तित्वमा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको महेश भट्टराई नेतृत्वको सरकारले नियुक्त गरेको समिति र वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नियुक्त गरेको विकास समिति दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै पदाधिकारीहरु दैनिक अस्पतालमा उपथित हुने गरेका छन् । अस्पतालका एकजना कर्मचारीले भने ‘कुन समिति आधिकारिक हो टुंगो नहुँदा हामीलाई नमस्कार गर्नकै हैरान भएको छ ।’

वर्तमान सरकारले भट्टराई नेतृत्वको विकास समिति भंग गरेको थियो । कार्यकाल बाँकी छँदै समिति भंग गरेको विरुद्धमा रिट निवेदन लिएर अदालत पुगेका उनीहरुको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि भट्टराई नेतृत्वको समितिले आफूलाई वैधानिक दावी गर्दै आएको छ । तर, भिष्मजंग कार्कीको नेतृत्वमा वर्तमान सरकारले गठन गरेको समितिका विरुद्ध विपक्षीले मुद्दा दायर नगरेको भन्दै नयाँ समितिले पुरानो समितिको अस्तित्वमाथि प्रश्न उठाइरहेको छ ।

दुवै विकास समितिले वैधानिकता दाबी गरेपनि वैशाख यता समितिको एउटै बैठक बसेको छैन । समितिको वैधानिकता विवाद नटुंगिएसम्म अस्पताल प्रशासन दुवै समितिसँग बैठक बस्न अनिच्छुक देखिएको छ । कार्की नेतृत्वको समितिले केही दिन अघि बैठक बस्ने प्रयत्न गरेको भएपनि अस्पताल प्रशासनको अनिच्छा बुझेर अनौपचारिक बैठक मात्र बसेको थियो ।

कोसी अस्पताल विकास समितिको पुरानो समिति अध्यक्षमा नेकपा एमालेका नेता महेश भट्टराई छन् भने नेकपा माओवादी केन्द्रका देवानन्द यादव, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा कार्की र एमालेका युवा नेता मुकेश बुढायोकी सदस्य छन् ।
यस्तै सरकारले नियुक्त गरेको नयाँ समितिका अध्यक्षमा भिष्मजंग कार्की छन् भने लिला ढुंगेल वाग्ले, दिपेन्द्रकुमार मेहता र रामविलास यादव सदस्य छन् ।

दुई समिति भएका कारण अस्पताल प्रशासनको काम प्रभावित भएको छ । ‘हामी पनि के गर्ने, कुनलाई आधिकारिक मान्ने भन्ने द्वीविधामा परेका छौं,’ एक कर्मचारीले भने ‘समितिको विवादले निर्माण भइरहेको पूर्वाधारको कामको अनुगमन गर्ने लगायतका कामहरु सबै अवरुद्ध झैं भएको छ ।’

बुधबार, ११ जेठ, २०७९, बिहानको ०८:१२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर