बेलबारी । बेलबारी नगरपालिकाले चुनावको मुखमा वितरण गरेको इ–रिक्सा (सफारी) भुक्तानी नपाएपछि कम्पनीले फिर्ता लगेको छ ।
नगरपालिकाका नयाँ जनप्रतिनिधिले सपथ ग्रहण गरेको भोलीपल्टै सफारी फिर्ता भएको हो । मोरङको बेलबारी–७ कि पवित्रादेवी खतिवडा र बेलबारी ११ का सुवास तामाङलाई वैशाख ११ गते नगरपालिकाले सफारी प्रदान गरेको थियो ।
चुनावको मुखमा वितरण गरेको उक्त सफारी चुनाव सकिने बित्तिकै फिर्ता जानुले नगरपालिका प्रति स्थानीय आक्रोशित भएका छन् । ग्रिन इनर्जी ट्रेड लिंंक इटहरीको बिलको के.वि. इ रिक्सा शर्भीस सेन्टर बेलबारीबाट खरिद गरिएको हुलास कम्पनीको ति सफारी दुई लाख सत्तरी ७० मूल्य बराबरको छ ।
दुई लाख ७० हजारमध्ये ७० हजार ती सफारी प्रयोगकर्ता आफैंले नगरपालिकालाई बुझाएको सफारी चालक सुवास तामाङकी श्रीमती सन्तोषी तामाङ बताउँछिन् । नगरपालिकामा भुक्तानी लिन जाँदा नगरपालिकाको बजेटमा यस प्रकारको शीर्षकमा नरहेको भनेपछि आफूले मंगलबार ती दुई सफारी फिर्ता ल्याएको के.वि.इ–रिक्सा शर्भीस सेन्टरका संचालक रमेश श्रेष्ठले बताए ।
बेलबारीमा उक्त सफारी वितरण गर्दा एमालेका ज्ञानेन्द्र सुवेदी प्रमुख थिए भने अहिले पनि एमालेकै दिलप्रसाद राई मेयरमा निर्वाचित भएका छन् । एमालेको भोट आउने आशामा अनुदानबाट वितरण गरिएका सफारी फिर्ता लगेपछि सफारी धनी भने अलमलमा परेका छन् ।