विराटनगर । स्थानीय तहमा निर्वाचित मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले सपथग्रहण गराए ।
शपथ ग्रहणका क्रममा लम्साललले निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायसंगत ढङ्गले सेवा प्रवाह गर्न सुझाव दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । पार्टीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरु लागिपर्ने उनले बताए ।
शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हाल्ने छन् ।