प्रदेश १ मा अब मेचीनगर, त्रियुगा र कटारीको नतिजा बाँकीः कसले कति जिते ?

नतिजा आइसकेका १३३ तहमध्ये काँग्रेस ६७, एमाले, ४६ र माओवादी १२ तहमा विजयी

विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये स्थानीय तह निर्वाचनको नतिजा हालसम्म १३४ स्थानीय तहको आइसकेको छ भने अब नतिजा आउन बाँकी ३ वटा तह मात्र छन् ।

मतणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमध्ये १ तहमा काँग्रेस, १ तहमा एमालेको अग्रता छ भने एक तहको गणना सुरु भएको छैन । उदयपुरको त्रियुगामा मतदानकै दिनको विवादको कारण मतगणना सुरु हुन सकेको छैन ।

मतगणना भइरहेको उदयपुरको कटारी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठको अग्रता छ भने झापाको मेचीनगरमा एमालेका गोपाल बुढाथोकीले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म प्रदेशका १३४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेसले ६७ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ ।

नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ । पछिल्लो नतिजा अनुसार काँग्रेस ६७ स्थानीय तहमा प्रमुख र अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।

२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४६ वटा प्रमुख अध्यक्ष र ६० उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्ष २१ वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितेको हो ।

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।

प्रदेश १ मा ३ जना स्वतन्त्र उम्मेद्वारले प्रमुख/अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले २ प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

सोमबार, ०९ जेठ, २०७९, बिहानको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर