‘म सिला खोजिरहेछु’ कविता संग्रह विमोचन

विराटनगर । कवि तथा साहित्यकार स्वीकृति रेग्मी ‘मुना’(निरौला)को कविता संग्रह ‘म सिला खोजिरहेछु’ आइतबार विमोचन गरिएको छ । विराटनगरको खोटाङ समाजको सभाहलमा आयोजित समारोहमा साहित्यकार तथा प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यतामा कविता संग्रह बिमोचन गरिएको हो ।

कविता संग्रहमा ३२ वटा कविता तथा ८० वटा मुक्तकहरु समावेश छन् । देश प्रेम, प्रकृति प्रेम, विसंगति, राजनीति, गरिबीको पीडा, अव्यवस्था, कालोबजारी आदि विषयमा कवयत्रीले आफ्ना भावनाहरु कविता मार्फत व्यक्त गरेकी छन् । सरल, सहज प्रस्तुति रहेको कविता संग्रहका हरफहरु देश, जनता, प्रकृति, मानवका जीवन र भोगाई, माया प्रेम र आध्यात्म आदिसँग सम्बन्धित छन् । लामो समयदेखि साहित्य रचनामा सक्रिय रहेकी रेग्मीले पहिलो कविता संग्रह प्रकाशन गरेको बताइन् । यसअघि उनका दुई कथा संग्रह प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा आवद्ध रेग्मी लेखन तथा सिर्जनामा सक्रिय रहदै आएको र साहित्य क्षेत्रमा उनको भविष्य उज्जवल रहेको प्राज्ञ गंगा सुवेदीले बताइन् । ‘तपाईँको कविता संग्रहका बारेमा जसरी यहाँ चर्चा भएको छ र तपाईँको पहिलो कथा संग्रह पढ्दा अनि तपाईँले मञ्चमा उभिएर बोल्दा जसरी प्रष्ट ढंगले विषय पस्किनुभयो त्यसले तपाईँको भविष्य उज्जवल रहेको मैले पाएँ,’ सुवेदीले भनिन् ।

‘म सिला खोजिरहेछु’ शीर्षकले आफूलाई आकर्षित गरेको भन्दै कविताले आफूलाई वाल्यकालतिर फर्काएर लगेको सुवेदीले बताइन् । ‘यो कविताले हरेकलाई आफ्नो वाल्यकाल र विगत तर्फ फकाउँछ, म पनि फर्किए,’ सुवेदीले भनिन् ‘अभावले नभएपनि हजुरबुवासँग खेतीमा जाँदा म पनि धानका सिला खोज्थें, हामी धेरैले त्यो काम गरेका छौं त्यसैले यो कविता संग्रहको शीर्षक वास्तवमै आकर्षक छ ।’

कविता संग्रह विमोचनको शुभकामना व्यक्त गर्दै समालोचक दधिराज सुवेदीले दधिराज सुवेदीले मुना निरौलाको पछिल्लो कृति गुणात्मक कृतिको रुपमा आएको बताए । तीन वर्षयता हरेक वर्ष एउटा नयाँ कृति प्रकाशन गरेर साहित्य क्षेत्रमा योगदान गरेको भन्दै सुवेदीले स्वीकृति रेग्मीको वर्तमान समाजको कुनाकुनामा छिरेर विकृती विसंगति केलाउने कलममा बिर्को नलागोस् भन्ने शुभकामना व्यक्त गरे ।

झोराहाट नाट्य केन्द्रका संस्थापक भरत गुरागााई बर्बरीकले कविता संग्रहको बारेमा चर्चा गरे । उनले विकृति विसंगतिका विरुद्धमा, देश, प्रकृति र संस्कृतिको पक्षमा संग्रहमा समेटिएका कविताहरु सशक्त रुपमा प्रस्तुत भएको बताए । कार्यक्रममा उपस्थित थुप्रै कवि तथा साहित्यकारहरुले कविता संग्रहमा संग्रहित कविता तथा मुक्तकहरु वाचन गरेर शुभकामना व्यक्त गरेका थिए ।

हाम्रो साहित्य संसारले प्रकाशन गरेको कविता संग्रह विमोचन कार्यक्रम पनि सोही संस्थाले आयोजना गरेको थियो । संस्थाका उपाध्यक्ष टंक पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा युवा कवि सविता गौतम दाहाललाई सम्मान गरिएको थियो ।

दुई सय रुपैयाँ मूल्य रहेको कविता संग्रह बिक्री वापत प्राप्त हुने १ लाख रुपैयाँ रकम बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्ने कृतिकार रेग्मीले जानकारी दिएकी छन् ।

आइतबार, ०८ जेठ, २०७९, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर