विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये स्थानीय तह निर्वाचनको नतिजा हालसम्म १२७ स्थानीय तहको आइसकेको छ भने अब नतिजा आउन बाँकी १० वटा तह मात्र छन् ।
मतणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमध्ये काँग्रेस २ स्थानीय तहमा अगाडि छ भने नेकपा एमाले ६ स्थानीय तहमा र स्वतन्त्र उम्मेद्वार १ तहमा अगाडि छन् ।
प्रदेश १ मा अब उदयपुरको २, मोरङको २, सुनसरीको १, झापाको ५ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ । तीमध्ये कतिपयको मतगणना अन्तिम चरणमा पुगेको छ । उदयपुरको त्रियुगामा भने मतदानकै दिनको विवादको कारण मतगणना सुरु हुन सकेको छैन ।
अहिलेसम्मको गणनामा सुनसरीको धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ जितनजिक पुगेका छन् । गणना भइहरेका पालिकामा एमालेबाट झापाको मेचीनगर नगरपालिका एमालेका गोपाल बुढाथोकी, शिवसताक्षी नगरपालिकामा मेगाहाङ थोप्रा, गौरादह नगरपालिकामा छत्रपति सुवेदी, मोरङको रंगेली नगरपालिकामा दिलिप बगडिया, सुन्दरहरैंचा नगरपालिकामा केदार गुरागाईं र उदयपुरको कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठले अग्रता कायम राखेका छन् । काँग्रेसबाट झापाको कमल गाउँपालिकामा हुकुमसिंह राई र झापाकै गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशीको अग्रता छ ।
अहिलेसम्म प्रदेशका १२७ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेसले ६५ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४२ स्थानीय तह जितेको छ ।
नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ । पछिल्लो नतिजा अनुसार काँग्रेस ६५ स्थानीय तहमा प्रमुख र अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।
२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४२ वटा प्रमुख अध्यक्ष र ५३ उपप्रमुख/उपाध्यक्ष पद जितेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुखरअध्यक्षमा १२ र उपप्रमुख÷उपाध्यक्षमा २० वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितेको छ ।
अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।
प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेद्वारले गाउँपालिका अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले २ प्रमुख÷अध्यक्ष र ५ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।