विराटनगर । मोरङको रंगेली नगरपालिकामा ९९ मत बढी फेलापरेपछि सिर्जना भएको विवाद अझै साम्य भएको छैन । जसका कारण हिंजोबिहानदेखि रोकिएको मतगणना पनि प्रभावित भएको छ ।
अहिलेसम्म मतगणना गर्न सहमतिको प्रयास गरिरहेको निर्वाचन आयोगले जनाएको छ । तर, एमाले बाहेकका दलहरु नेपाली कांग्रेसलगायतले विरोध गरेपछि गणना प्रभावित भएको हो ।
रंगेली ७ को मतगणनाका क्रममा ९९ मत बढी फेला परेको थियो । उक्त मत धाँधली भएको हुनसक्ने नेपाली कांग्रेसले जनाएको छ । सोही कारण देखाउँदै कांग्रेसले रंगेली बजारमा प्रदर्शन समेत गर्दै आएको छ । रंगेली ७ मा ३४४२ मत खसेको थियो । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको कांग्रेसबाट प्रमुखका उम्मेद्वार बनेका मोदराज घिमिरेले बताए ।
गणना रोकिएको १२ घण्टा बितिसक्दा पनि रंगेली नगरपालिकाको मतगणना सुरु नभएपछि गणनास्थलमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख निर्वाचन अधिकारी लेवन काश्यव अधिकारीसहितको तीन सदस्य टोली त्यहाँ पुगेको छ । उक्त टोलीले मतगणनाका लागि सहमतिको प्रयास जारी राखेको जनाएको छ ।
रंगेली नगरपालिकाको १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ । गणना सम्पन्न भएको पाँच वटै वडाअध्यक्षमा एमाले विजयी भएका छन् । ६, ७, ८ र ९ वडाको गणना हुन बाँकी रहेको छ । रंगेलीमा २७ हजार २ सय ७० मत खसेको छ । रंगेलीमा एमालेका उम्मेदवार दिलिप कुमार अग्रवालले मेयरमा अग्रता लिएका छन् । उनले ७ हजार ३ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् भने काँग्रेसका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत ल्याएका छन् ।