दमक । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापाको दमकको मतपरिणाम रोचक मोडमा पुगेको छ।
किनभने भर्खरै ओलीको घर रहेको वडा नम्बर ५ को मतगणना सकिँदा मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रापा थापाकै अग्रता कायम छ।
धेरैले ओलीको वडाबाट एमालेले अग्रता उल्टाउने अपेक्षा गरेको भएपनि अहिले पनि राप्रपाका थापा एमालेकी गीताकुमारी पौडेल अधिकारीभन्दा ४०३ मतले अघि छन्। धेरैले ५ नम्बर वडालाई एमालेको गड मानेपनि यो वडाबाट एमालले ८७० को मतान्तर उल्टाउन सकेन। अहिले पनि राप्रपाका थापा ४०३ मतले अघि नै छन्।
५ नम्बर वडाबाट एमालेका मेयरले २१२४ मत ल्याएको छ। यस्तै राप्रपाले १६५७ मत पाएको छ। तर एमालेको मेयरले यो वडामा वडाध्यक्षले जति मत पाएका छैन। एमालेका निर्वाचित वडाध्यक्षले २४२६ मत पाएका छन्।
यो भनेको मेयरले पाएको भन्दा ३०२ मतले बढी हो। यदि वडाध्यक्षले पाएको मत बराबर मेयरले पनि पाएको भए एमालेले राप्रपासँगको मतान्तर १०१ मा झार्ने थियो।
अब दमकमा कुल १० वडामध्ये वडा नम्बर ६ को मत गन्न बाँकी छ। यो वडामा २७५४ मत खसेको छ। ६ नम्बर वडामा गठबन्धन र एमालेको अवस्था बराबरी रहेको एमाले नेतहरू बताउँछन्। त्यसैले ओलीकै ५ नम्बर वडाले एमालेलाई जिताउनेमा उनीहरू आशावादी थिए। तर ५ नम्बर वडाको मतगणना सकिँदा पनि राप्रपाको अग्रता कायम रहँदा परिस्थिति थप रोचक बनेको छ।
गठबन्धनका नेताहरूको भने ५ नम्बर वडामा अग्रता जोगाउन सके जित आफ्नो पक्षमा हुने विश्लेषण छ। ‘वडा नम्बर सातको नतिजा आउँदा हामी साढे चारदेखि पाँच सय मतको अग्रतामा हुन्छौ,’ कांग्रेस झापा ५ का क्षेत्रीय सभापति दुण्डीराज भण्डारीले भने, ‘तर ६ मा बराबरी अवस्था रहेका कारण हामीले चुनाव जित्ने निश्चित छ।’
उपमेयरमा पनि कांग्रेसकै रेगिना भट्टराईकै अग्रता छ। उनी १५७२९ मतसहित एमालेकी अम्वीकाप्रसाद खनालभन्दा अघि छिन्। खनालले भने १५५३२ मत ल्याएका छन्।
यसपालि दमकमा छ दलीय गठबन्धनबाट राप्रपाका राम थापा मेयरका साझा उम्मेदवार छन्। त्यसैले पनि सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा टक्कर रहँदै आएको छ।