काठमाडौं । नेकपा माओवादी केन्द्रले जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेको छ।
अहिलेसम्म गरिएको मतगणना अनुसार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राजन पौडेलले १८ हजार २३४ मत पाएका छन्।
दोस्रोमा स्थानमा रहेकी एमाले उम्मेदवार सरस्वती चौधरीले १६ हजार ६८९ मत पाएकी छन्। अब थोरै मात्र मत गन्न बाँकी रहेकोले पौडेलको जित निश्चित भएको हो । गणना हुन बाँकी भएको मतभन्दा एमाले उम्मेदवारसँगको मतान्तर धेरै भएकाले पौडेलको जितले अब औपचारिकता पाउन मात्र बाँकी छ ।
जितपुर सिमराका २४ मध्ये १२ र १३ वडाको मतगणना जारी छ। आफ्नो जीतलाई अब औपचारिक घोषणा मात्र बाँकी रहेको पौडेलले बताएका छन् ।
उपमेयरमा भने एमालेले जित्ने निश्चित भएको छ। एमालेका भोलाप्रसाद अधिकारीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी मेघा शाही पछि परेकी छन्। अधिकारीले १६६७७ मत प्राप्त गर्दा शाहीले १५५३६ मत प्राप्त गरेकी छन् ।