लेटाङ घटना : महिला प्रहरीको हत्या आरोपि धरौटीमा रिहा, यौन दुर्व्यवहारका आरोपि शिक्षक जेल चलान

विराटनगर । मोरङको लेटाङमा महिला प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई मोरङ अदालतले धरौटिमा छोडन आदेश दिएको छ ।

मोरङ अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले मंगलबार जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि धरौटि रकम बुझाएर रिहा भएको मोरङ अदालतका सुचना अधिकारी हेमबहादुर बुढाथाकीले जानकारी दिए ।

अदालतको आदेशसँगै कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोश कुंवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर जनही ५० हजार धरौटीमा रिहा भएका छन् । उक्त मुद्दाका पाँच आरोपित अझै फरार छन् ।
त्यसैगरी उक्त घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अविभावकको जिम्मा लगाउने आदेश दिएको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन र्दूर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रण गर्दा चैत ६ गते राति २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले एक १४ वर्षीय नाबालकसहित १६ जना विरुद्ध आजन्म कैदको माग गर्दै गत बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तीमध्ये ५ जना फरार छन् । कर्तव्य ज्यान मुद्दा परेका नाबालकलाई गत मंगलबार न्यायाधीश ढकालकै इजलसले अभिभावकको जिम्मा लगाउन आदेश दिएको थियो ।

प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रुपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसमध्ये एक नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै आजन्म कैदको माग गर्दै कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले ५१ जना विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यसमध्ये १५ जना नाबालक थिए । सूचना अधिकृत बुडाथोकीका अनुसार अभद्र व्यवहारका ५१ जना मध्ये सरकारी वकिल कार्यालय र अनुसन्धान अधिकृतले सन्जीव प्रधान, जस्वीन तामाङ, श्रवण यादव, अर्पण परियार, रामकुमार राई, अमृत खेवालिम्बु, रुपेश रानामगर, सुजन अधिकारी, चन्द्रकान्त लामा, पासाङ तामाङ र प्रलाद खड्कालाई कुनै दाबी नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

चैत ६ गते आइतबार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटनाले थप मोड लिएको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन । घटनामा प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको थियो ।

प्रारम्भीक चरणमा प्रहरीले श्रेष्ठको मृत्यु उत्तेजित भीडले धारिलो हतियार प्रहार गर्दा भएको बताउँदै आएको थियो । तर पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ का कारण भएको र घाँटीमा गोली फेला परेको उल्लेख गरेपछि घटना थप शंकास्पद बनेको हो । श्रेष्ठको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

प्रहरीकै गोली लागेर प्रहरीकै मृत्यु भएको हो कि भन्ने आशंकामा मृतकको शरीरमा भेटिएको गोली र प्रहरीका हतियारका गोली विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मेल नखाएपछि भीडबाटै चलेको गोलीले श्रेष्ठको मुत्यु भएको पुष्टि भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तीराज कोइरालको भनाइ छ । घटनास्थलमा १० थान सट गनको खोका फेला पर्नुले भीडबाट पनि गोली चलेको पुष्टि हुने कोइरालाको भनाइ छ ।

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेल पुर्वपक्षको लागि जेल चालन भएका छन । जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो । त्यसपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

मङ्गलबार, ०६ बैशाख, २०७९, रातीको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर